पाथीभर केबलकारबारे सरकार स्पष्ट हुनुपर्छ : सांसद क्षितिज थेबे
काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबे ले पाथीभर केबलकार आयोजनाबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभएकाे छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेबेले पाथीभर क्षेत्रमा निर्माणाधीन केबलकार आयोजनाको काम हालका लागि रोकिएको जानकारी बाहिरिएको उल्लेख गर्दै सरकारको आधिकारिक निर्णयबारे स्पष्टता आवश्यक रहेको बताउनुभयाे ।
उहाँले मौखिक निर्देशनका आधारमा आयोजना रोकिएको भन्ने चर्चा सार्वजनिक भइरहे पनि सरकारले औपचारिक रूपमा आफ्नो धारणा नदिएको भन्दै प्रश्न उठाउनुभयाे। “यो आयोजना बन्ने हो कि रोकिने हो भन्ने विषयमा सरकार स्पष्ट हुनुपर्छ,” उहाँले भन्नुभयाे ।
उहाँका अनुसार अहिले ताप्लेजुङ का स्थानीयवासी अन्योलमा परेका छन्। एकातिर आयोजनाको विरोध भइरहेका कार्यक्रम सार्वजनिक भइरहेका छन् भने अर्कोतर्फ विकास, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारका दृष्टिले आयोजना आवश्यक रहेको आवाजसमेत उठिरहेको उहाँले बताउनुभयाे ।
उहाँले यस्ता संवेदनशील र जनचासोका विषयमा सरकार मौन बस्न नहुने उल्लेख गर्दै संसदमार्फत स्पष्ट जवाफ दिन सरकारसँग माग गर्नुभयाे ।


प्रतिकृया दिनुहोस