दुई दिनपछि कार्यान्वयनमा आयो प्रधान न्यायाधीशविरुद्धको निवेदन
काठमाडौं । सर्वोच्च अदालत प्रशासनले प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध परेको दरपीठ गरिएको निवेदन दुई दिनपछि दर्ता गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल ले जेठ ४ गते आफ्नो इजलासमा परेको निवेदनमाथि सुनुवाइ गर्दै मुख्य रजिष्ट्रार र रजिष्ट्रारका नाममा दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्न आदेश दिएकी थिइन् ।
रिट निवेदक प्रेमराज सिलवाल ले दायर गरेको उक्त निवेदनको पेसी जेठ ११ गतेका लागि तोकिएको जनाइएको छ ।
यसअघि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि परिषद्ले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि चौथो वरीयतामा रहेका डा. शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
तर अदालत प्रशासनले रिटमा दरपीठ गरेपछि त्यसविरुद्ध पेश गरिएको निवेदन केही समय दर्ता नगरी रोकिएको अवस्थामा राखिएको थियो ।
मंगलबार प्रधान न्यायाधीश शर्माले पदभार ग्रहण गरेपछि बुधबार उक्त निवेदन औपचारिक रूपमा दर्ता गरिएको हो ।


प्रतिकृया दिनुहोस