• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

८ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ जनाको आवेदन

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । देशका आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ जनाले आवेदन दिएका छन् ।

शिक्षा मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालयका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाको आवेदन परेको हो ।

मन्त्रालयले उक्त विवरण बुधबार सार्वजनिक गरेको हो । गत वैशाख २५ गते १० दिनको समय दिँदै उपकुलपति पदका लागि खुला आवेदन आह्वान गरिएको थियो ।

अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा समिति गठन गरिएको छ ।

समितिले विज्ञ उपसमिति मार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्था गरिएको छ । नयाँ कार्यविधिअनुसार उम्मेदवारको योग्यता, अनुभव, अनुसन्धान, कार्ययोजना र प्रस्तुतीकरणलाई आधार बनाएर मूल्याङ्कन गरिनेछ ।

प्रारम्भिक चरणमा उच्च अंक प्राप्त गर्ने १० जनाको सूची सार्वजनिक गरिनेछ । त्यसपछि सार्वजनिक सुझाव संकलन, प्रस्तुतीकरण तथा अन्तर्वार्ता प्रक्रिया अघि बढाइनेछ ।

उम्मेदवारले विश्वविद्यालय सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार तथा शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

कुल १०० पूर्णाङ्कमा मूल्याङ्कन हुने व्यवस्था गरिएको छ, जसमा प्रकाशित अनुसन्धान, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई आधार बनाइनेछ ।

त्यस्तै, उम्मेदवारसँग विद्यावारिधि अनिवार्य गरिएको छ भने कम्तीमा १० वर्षको शैक्षिक तथा अनुसन्धान अनुभव हुनुपर्नेछ । उच्च नैतिक चरित्र, राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा तथा बौद्धिक चोरी नगरेको प्रमाण पनि आवश्यक रहनेछ ।

उमेर ४० वर्ष पूरा भएको र सम्बन्धित विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिने हुनुपर्ने प्रावधान राखिएको छ । गलत वा झुटा कागजात पेस गरिएको पाइएमा जुनसुकै बेला उम्मेदवारी रद्द गर्न सकिने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस
↑