• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

उपत्यकाका नदी–खोला किनार निर्माण मापदण्डमा सर्वोच्चको पुरानै व्यवस्था कायम गर्ने फैसला

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । काठमाडौँ उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण सम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतले पूर्ववर्ती व्यवस्था नै लागू हुने गरी फैसला गरेको छ । अदालतले यसअघिको निर्देशन पुनरावलोकन गर्दै २०६५ साल मंसिर १ गते कायम गरिएको पुरानो निर्माण मापदण्डलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको पूर्ण इजलासमा न्यायाधीशहरू सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौला सहभागी थिए ।

फैसलाअनुसार काठमाडौँ उपत्यकाका प्रमुख नदीहरू बागमती, विष्णुमती र मनोहरा किनारामा निर्माण गर्दा २० मिटर क्षेत्र खाली छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ । त्यस्तै, धोबीखोला क्षेत्रमा आयोजना कार्यान्वयन भएका स्थानमा सोही योजनाअनुसार निर्माण गर्न सकिने र आयोजना नभएका भागमा ९ मिटर खाली क्षेत्र राख्नुपर्ने प्रावधान यथावत रहनेछ ।

त्यसैगरी नख्खु खोलामा १२ मिटर, बल्खु, कर्मनासा, कोइके, साले र महादेव खोलामा १० मिटर तथा करखुसी खोलामा ६ मिटर खाली क्षेत्र छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ । टुकुचा, सामाखुसीलगायत साना खोलाहरूको किनारामा भने ४ मिटर खाली क्षेत्र छाडेर मात्र निर्माण गर्न पाइने सर्वोच्चले स्पष्ट गरेको छ ।

प्रतिकृया दिनुहोस
↑