• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

सरकार संसद्प्रति जवाफदेही नभएको हर्कराज राईको आरोप

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) ले सरकार र प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै उनले वर्तमान सरकार संसद्को मर्यादा र संसदीय अभ्यासलाई कमजोर बनाइरहेको आरोप लगाएका छन् । राईका अनुसार प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायत उच्च पदस्थ मन्त्रीहरू नियमित रूपमा संसद्मा उपस्थित नहुने र सांसदहरूले उठाएका प्रश्नको स्पष्ट जवाफ नदिने प्रवृत्तिले संसदीय प्रणाली प्रभावहीन बन्दै गएको छ ।

उनले प्रतिनिधिसभा नियमावली १५(२) को समेत उल्लंघन भएको दाबी गर्दै मन्त्रीहरूको अनुपस्थितिले संसद् विधिसम्मत ढंगले सञ्चालन नभएको जस्तो अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

त्यस्तै, लामो प्रयासपछि केही मन्त्रीहरू संसद्मा उपस्थित भए पनि उनीहरूको जवाफ अत्यन्तै सतही रहेको र थप प्रश्न गर्न खोज्दा सभामुखले रोक लगाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । उनका अनुसार संसद् जनताका प्रश्न उठाउने र नीति–निर्माण गर्ने मुख्य थलो भए पनि प्रश्न सोध्ने अवसर नै सीमित गरिनु आपत्तिजनक विषय हो ।

राईले आफूले गत वैशाख २८ र २९ गते संसद्मा राखेका प्रश्नहरूको समेत सरकारबाट अहिलेसम्म जवाफ नआएको उल्लेख गर्दै यस अवस्थालाई लोकतान्त्रिक अभ्यासमा नकारात्मक उदाहरणको रूपमा चित्रण गरेका छन् ।

सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्ने अवस्था र प्रतिपक्षका प्रश्नमा कडाइ गर्ने व्यवहारप्रति आलोचना गरेका छन् । उनले नियमभन्दा पनि नियत महत्वपूर्ण हुने भन्दै त्यो नियत जनताको हित र लोकतन्त्रको पक्षमा हुनुपर्ने धारणा राखेका छन् ।

 

प्रतिकृया दिनुहोस
↑