• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

आठ विश्वविद्यालयका उपकुलपतिका लागि २१८ आवेदन, छनोट प्रक्रिया सुरु

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौँ । देशका आठ विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि परेको कुल २१८ आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन प्रक्रिया सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले गत वैशाख २५ गते सूचना प्रकाशित गरी योग्य तथा इच्छुक व्यक्तिबाट १० दिनभित्र दरखास्त आह्वान गरेको थियो । सोही सूचनाअनुसार सबैभन्दा धेरै आवेदन त्रिभुवन विश्वविद्यालय को उपकुलपति पदका लागि परेको छ । उक्त पदका लागि ५० जनाले आवेदन दिएका छन् ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय मा ३८/३८, सुदूरपश्चिम विश्वविद्यालय मा १९, मध्यपश्चिम विश्वविद्यालय मा २०, लुम्बिनी बौद्ध विश्वविद्यालय मा ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय मा १५ तथा राजर्षि जनक विश्वविद्यालय मा २७ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

समितिले प्राप्त आवेदन तथा आवश्यक कागजातको अध्ययन र छानबिन गरी योग्य उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसपछि मात्र अन्तिम छनोट प्रक्रिया अघि बढाइने जनाइएको छ ।

गत वैशाख २४ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत भएपछि नयाँ नियुक्ति प्रक्रिया औपचारिक रूपमा सुरु भएको हो । यसअघि सार्वजनिक निकायका पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष अध्यादेशमार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि रिक्त पदमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको हो ।

उपकुलपति छनोटका लागि गठित समितिमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल तथा सम्बन्धित विश्वविद्यालयका विज्ञहरू सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस
↑