• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

मोदी–रुबियो भेटमा सुरक्षा, व्यापार र प्रविधि सहकार्यमा जोड

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । नरेन्द्र मोदी र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच भएको उच्चस्तरीय भेटवार्तामा भारत–अमेरिका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विस्तृत छलफल भएको छ ।

भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जालमार्फत उक्त भेटलाई सकारात्मक र महत्त्वपूर्ण संवादका रूपमा चित्रण गरेका छन् ।

उनले प्रधानमन्त्री मोदी र विदेशमन्त्री रुबियोबीचको भेटमा सहभागी हुन पाउँदा खुसी लागेको उल्लेख गर्दै सुरक्षा, व्यापार तथा अत्याधुनिक प्रविधिको क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

गोरका अनुसार भारत अमेरिका लागि अत्यन्तै महत्त्वपूर्ण रणनीतिक साझेदार राष्ट्र हो र दुवै देशबीचको सहकार्य आगामी दिनमा अझ विस्तार हुने अपेक्षा गरिएको छ ।

उनले अर्को सन्देशमार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीलाई ह्वाइट हाउस भ्रमणका लागि औपचारिक निमन्त्रणा दिइएको जानकारीसमेत सार्वजनिक गरेका छन् ।

यसैबीच प्रधानमन्त्री मोदीले पनि विदेशमन्त्री रुबियोलाई स्वागत गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

उनले भारत–अमेरिका व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई निरन्तर अघि बढाउने विषयमा गहन छलफल भएको उल्लेख गर्दै विश्व शान्ति, सुरक्षा र साझा हितका मुद्दामा दुवै देश मिलेर काम गरिरहने बताएका छन् ।

प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको सहकार्य केवल द्विपक्षीय सम्बन्धमा सीमित नभई विश्वव्यापी स्थायित्व, आर्थिक विकास र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने दिशामा केन्द्रित रहेको धारणा व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस
↑