एमाले बैठकबारे फैलाइएका चर्चामा लेखराज भट्टको आपत्ति
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्ट ले पार्टी सचिवालय बैठकका विषयलाई लिएर बाहिर आएका कतिपय चर्चाहरू तथ्यभन्दा बढी बढाइचढाइ गरिएको बताउनुभएकाे छ ।
शनिबार अध्यक्ष केपी शर्मा ओली को निवासमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले बैठकभित्र भएका छलफललाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको टिप्पणी गर्नुभएकाे हाे ।
उहाँले पार्टीभित्र विभिन्न धारणा र प्रवृत्ति स्वाभाविक रूपमा आउने भए पनि अन्ततः पार्टीको आधिकारिक निर्णय र मूल लाइनलाई नै प्राथमिकता दिनुपर्ने बताउनुभयाे ।
“बैठकभित्र फरक–फरक विचार आउन सक्छन् । नेताहरूले आफ्ना धारणा राख्नु स्वाभाविक हो,” भट्टले भन्नुभयाे, “तर पार्टीको आधिकारिक निष्कर्षभन्दा बाहिर गएर अनावश्यक व्याख्या गर्नु उचित हुँदैन ।”
एमाले सचिवालय बैठकमा केही उपाध्यक्षहरूले नेतृत्व हस्तान्तरणको विषय उठाएको चर्चा सार्वजनिक भइरहेका बेला भट्टले त्यस्ता विवरणलाई बढाइचढाइ गरेर प्रस्तुत गरिएको दाबी गर्नुभयाे ।
पार्टीभित्र छलफल र बहस चलिरहे पनि एमाले निर्धारित प्रक्रिया र सामूहिक निर्णयकै आधारमा अघि बढ्ने उहाँको भनाइ छ ।


प्रतिकृया दिनुहोस