• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

राष्ट्र बैंकको निर्देशन : अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बैंकिङ सेवा अनिवार्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा साक्षर नभएका सेवाग्राहीलाई लक्षित गर्दै बैंकिङ सेवालाई थप सहज, पहुँचयोग्य र समावेशी बनाउने निर्देशन जारी गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्ता सेवाग्राहीलाई विशेष प्राथमिकताका साथ सेवा दिनुपर्ने व्यवस्था गरेको छ । त्यसका लागि छुट्टै विशेष काउन्टरको व्यवस्था गरी सेवा प्रवाह गर्नुपर्ने निर्देशन दिइएको छ ।

त्यसैगरी, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा शाखा अपाङ्गमैत्री बनाउन बैंकहरूलाई एक आपसमा समन्वय गरेर व्यवस्था मिलाउन भनिएको छ । यस्ता शाखाहरूको विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ ।

एटीएम सेवा सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको छ । एटीएम लाउञ्ज भएका स्थानमा ब्रेल संकेत, नियन्त्रण बटन र अडियो सपोर्टसहित कम्तीमा एक अपाङ्गमैत्री एटीएम राख्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ । त्यस्ता एटीएमको जानकारी पनि वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिले आफैं प्रयोग गर्न नसक्ने भनी स्वघोषणा गरेमा एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता डिजिटल सेवा पनि बैंकले उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

दृष्टिविहीनमैत्री सेवाका लागि बैंक तथा वित्तीय संस्थाका वेबसाइट र मोबाइल बैंकिङ एपहरू सबै प्रयोगकर्ताले सहज रूपमा प्रयोग गर्न मिल्ने गरी विकास गर्नुपर्ने निर्देशन पनि दिइएको छ । साथै, जारी हुने डेबिट र क्रेडिट कार्डहरूमा दृष्टिविहीनमैत्री स्पर्शयोग्य (ट्याक्टाइल) सुविधा समावेश गर्नुपर्नेछ ।

यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई प्रचलित कानुनअनुसार मात्र काममा लगाउन र अतिरिक्त समयमा खटाउँदा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था पनि स्पष्ट पारेको छ । कर्मचारीलाई बाध्यकारी रूपमा अतिरिक्त समय काम गराउन नपाइने निर्देशन समेत दिइएको छ ।

प्रतिकृया दिनुहोस
↑