• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुने रुलिङ गर्न सभामुखले गरे इन्कार

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन शाहलाई संसद्मा उपस्थित गराउन रुलिङ गर्न इन्कार गर्नुभएको छ ।

विपक्षी दलहरूले सभामुखले रुलिङ गर्नुपर्ने माग गरिरहेका छन् ।

यस सन्दर्भमा सभामुख अर्यालले भन्नुभयो, ‘मलाई थाहा छ माननीय सदस्यहरूले मेरो मुखबाट मिति घोषणा भइदियोस् भन्ने तपाईंहरूको ठूलो इच्छा छ ।’

विपक्षी दलहरूको यस्तो इच्छा प्राकृतिक प्रक्रिया भएको भन्दै उहाँले प्रधानमन्त्री उपस्थित हुने विषय पनि स्वाभाविक नै रहेको बताउनुभयो ।

रुलिङ गर्न इन्कार गर्दै सभामुख अर्यालले भन्नुभयो, ‘प्रधानमन्त्री आउने मिति तय हुने बित्तिकै म माननीय सदस्यहरूलाई जानकारी गराउँछु ।’

तर विपक्षीले मानेनन् । त्यसपछि सभामुखले विपक्षीको अवरोधका बीच सभालाई अगाडि बढाउनुभयो ।

सभामुखले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिनुभयो ।

विरोधकै बीच विधेयकमाथिको छलफल अगाडि बढ्यो । विपक्षी दलका सांसदहरूले विरोध जारी राखेका छन् ।

विधेयकमाथि बोल्न गएका रास्वपा सांसद अशोक कुमार चौधरीले संसद्लाई विरोधको थलो बनाउन नहुने भन्दै विपक्षी दलप्रति टिप्पणी समेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस
↑