प्रतिपक्षीको विरोधबीच सभामुखले दिए प्रधानमन्त्री आउने संकेत
काठमाडौं । सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन शाह छिट्टै प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहेको जानकारी दिनुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जनाइरहेका बेला सभामुख अर्यालले सरकार र प्रधानमन्त्रीसँग निरन्तर संवाद भइरहेको बताउनुभयो ।
सभामुख अर्यालले प्रधानमन्त्रीले संसदमा उठेका विषयप्रति गम्भीर चासो लिएको उल्लेख गर्दै सरकार संसदप्रति जिम्मेवार रहेको धारणा राख्नुभयो । उहाँले प्रतिपक्षी सांसदहरूले उठाएको माग संविधान, कानुन र संसदीय अभ्यासअनुसार उचित रहेको पनि बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री शाहले आगामी बजेट भाषणपछि संसदमा उपस्थित भएर सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नको सम्बोधन गर्ने तयारी गरिरहनुभएको छ ।
सभामुख अर्यालले सदनलाई कार्यसूचीअनुसार अघि बढाउन आग्रह गर्दै सरकार र प्रमुख दलहरूसँग छलफल जारी रहेको जानकारी दिनुभयो ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेश पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न अनुमति दिइएको थियो ।
तर, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत प्रतिपक्षी दलका सांसदहरूले आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए । विरोध जारी रहेपछि सभामुखले केहीबेर मन्त्री पौडेललाई विधेयक प्रस्तुत गर्न रोक्नुभएको थियो ।
सभामुखले सांसदहरूलाई शान्त भएर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि प्रतिपक्षीको विरोध जारी रह्यो । त्यसपछि फेरि प्रधानमन्त्री संसदमा आएर जवाफ दिने तयारी भइरहेको जानकारी गराउँदै बैठकलाई अगाडि बढाइएको थियो ।
विरोधकै बीच पर्यटनमन्त्री पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा प्रस्तुत गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस