• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन आवश्यक : प्रथम राष्ट्रपति यादव

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएकाे छ ।

नेपाल प्रेस युनियनको ३५ औँ स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र दिवसको अवसरलाई राष्ट्रको दिशा र नीतिगत दृष्टिकोण सार्वजनिक गर्ने महत्वपूर्ण मञ्चका रूपमा उपयोग गर्नुपर्ने बताउनुभएकाे छ ।

उहाँका अनुसार देशको कार्यकारी प्रमुखको हैसियतले प्रधानमन्त्रीले गणतन्त्र दिवसका दिन टुँडिखेलमा उपस्थित भई सरकारको दृष्टिकोण देशवासीसमक्ष प्रस्तुत गर्नुपर्ने हाे । उहाँले भन्नुभयाे, “राष्ट्रको भविष्य कता लैजाने भन्ने विषयमा प्रधानमन्त्रीको स्पष्ट धारणा जनताले सुन्न चाहन्छन्, त्यसका लागि यस्तो अवसर उपयुक्त हुन्छ ।”

पूर्व राष्ट्रपति यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण र आगामी नीति–दिशाबारे पनि प्रधानमन्त्रीको स्पष्ट दृष्टिकोण आवश्यक रहेकाे बताउनुभयाे । आर्थिक विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता विषयमा सरकारको योजना सार्वजनिक हुनुपर्ने उहाँको भनाइ थियाे ।

उहाँले गणतन्त्र दिवसको कार्यक्रममा राष्ट्रपतिको अध्यक्षता गर्ने परम्परालाई सम्मानजनक भएको उल्लेख गर्दै संसदीय व्यवस्थामा कार्यकारी अधिकार प्रधानमन्त्रीसँग रहने भएकाले संसद् र सार्वजनिक मञ्चमार्फत प्रधानमन्त्रीले नियमित रूपमा आफ्नो धारणा राख्नुपर्नेमा जोड दिनुभयाे ।

प्रतिकृया दिनुहोस
↑