डीडीसीबाट सीआईबीले उठायो महत्वपूर्ण कागजात, किसानको बक्यौता भुक्तानी प्रकरणमा अनुसन्धान तीव्र
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयबाट अनुसन्धानका लागि महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।
सीआईबी स्रोतका अनुसार संस्थानसँग सम्बन्धित आर्थिक तथा प्रशासनिक विवरणका कागजात अध्ययनका लागि लगिएको हो । यद्यपि, कुन विषयमा अनुसन्धान केन्द्रित छ भन्नेबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन ।
डीडीसीले देशभरका किसानबाट दूध संकलन गरी विभिन्न दुग्धजन्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ । पछिल्लो समय भने किसानलाई भुक्तानी दिन नसकेको विषयलाई लिएर संस्थान आलोचनामा परेको छ ।
संस्थानमाथि किसानको करिब चार महिनादेखिको ५८ करोड रुपैयाँ बक्यौता रहेको बताइएको छ । डीडीसीले भने हालसम्म १२ करोड रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेको छ ।
किसानको भुक्तानी, आर्थिक व्यवस्थापन र संस्थानको समग्र कारोबारसँग सम्बन्धित विषयमा छानबिन अगाडि बढाइएको स्रोतले जनाएको छ ।


प्रतिकृया दिनुहोस