गणतन्त्रको रक्षा गर्न लोकतान्त्रिक संस्थाको संरक्षण आवश्यक : केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका तथा स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताउनुभएको छ । लोकतान्त्रिक गणतन्त्र कमजोर बने जनताले अधिकार र समृद्धि दुवै गुमाउनुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको महत्व विगतका राजनीतिक अवस्थासँग तुलना गरेर बुझ्नुपर्ने उल्लेख गर्नुभएको छ । गणतन्त्र नभएको समयमा नागरिकले कस्ता कठिनाइ भोग्नुपरेको थियो भन्ने कुरा अघिल्लो पुस्ताले अनुभव गरिसकेको भन्दै अहिलेको पुस्ताले लोकतान्त्रिक व्यवस्थाको मूल्य बुझ्न आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
लोकतन्त्रका आधारभूत संस्थाहरू कमजोर पार्ने प्रयासले समाजलाई अस्थिर बनाउने उहाँको भनाइ छ । जनताको निराशा र असन्तुष्टिलाई प्रयोग गर्दै संस्थाप्रति अविश्वास सिर्जना गर्ने गतिविधिले अधिनायकवादलाई प्रश्रय दिने खतरा रहने उहाँले उल्लेख गर्नुभएको छ ।
संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार तथा स्वतन्त्रताको सम्मान र संरक्षण गर्नु नै गणतन्त्रको रक्षा भएको उहाँले स्पष्ट पार्नुभएको छ । लोकतान्त्रिक गणतन्त्रका संस्थाहरूको रक्षा गर्नु भनेको नागरिकको भविष्य सुरक्षित गर्नु भएको उहाँको धारणा छ ।
गणतन्त्र दिवसलाई केवल उत्सवका रूपमा नभई लोकतन्त्र प्राप्तिका लागि भएका संघर्षको स्मरण गर्ने अवसरका रूपमा लिन उहाँले आग्रह गर्नुभएको छ । लोकतन्त्र कमजोर बने भविष्यमा समाजले कस्तो अवस्था भोग्नुपर्ला भन्ने विषयमा शान्त र गम्भीर ढंगले सोच्न उहाँले सबैलाई आह्वान गर्नुभएको छ ।
देशमा विभिन्न राजनीतिक परिवर्तन भए पनि अपेक्षाअनुसार विकास र परिवर्तनको गति तीव्र हुन नसकेको स्वीकार गर्दै सामाजिक चेतनाको स्तरले परिवर्तनको गति निर्धारण गर्ने उहाँले बताउनुभएको छ । प्रणालीप्रति असन्तुष्टि हुन सक्ने भए पनि त्यसको समाधान लोकतान्त्रिक तथा वैधानिक प्रक्रियामार्फत मात्रै सम्भव हुने उहाँको भनाइ छ ।


प्रतिकृया दिनुहोस