विश्वभर बढ्दो द्वन्द्वबीच शान्ति स्थापनाको आवश्यकता अझ बढ्दो : संयुक्त राष्ट्रसङ्घ
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा सुरक्षा चुनौतीका कारण शान्ति स्थापनाको आवश्यकता झन् गम्भीर बन्दै गएको जनाएको छ । द्वन्द्व प्रभावित क्षेत्रमा शान्ति सैनिकको उपस्थितिले हिंसा न्यूनीकरण, नागरिकको सुरक्षा तथा दिगो शान्ति प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको राष्ट्रसङ्घको भनाइ छ ।
राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा जारी सन्देशमा महासचिव एन्टोनियो गुटेरेसले वर्तमान समयमा शान्ति स्थापना स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी तथा कम खर्चिलो माध्यम बनेको बताउनुभएको छ ।
उहाँले शान्ति मिसनलाई थप प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन तथा भरपर्दो आर्थिक सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ । विश्वका विभिन्न क्षेत्रमा देखिएका नयाँ सुरक्षा चुनौतीका कारण संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानको भूमिका थप महत्वपूर्ण बन्दै गएको उहाँको भनाइ छ ।
‘शान्तिमा लगानी गरौँ’ भन्ने नारासहित यस वर्ष राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार हाल विश्वका ११ वटा शान्ति मिसनमा ५१ हजारभन्दा बढी सैनिक, प्रहरी तथा नागरिक कर्मचारी परिचालित रहेका छन् ।
द्वन्द्वग्रस्त क्षेत्रमा कार्यरत शान्ति सैनिकहरूले कठिन परिस्थितिमा पनि स्थानीय समुदायमा सुरक्षा, विश्वास र आशाको वातावरण निर्माण गर्न महत्वपूर्ण योगदान दिइरहेको राष्ट्रसङ्घले जनाएको छ । बदलिँदो भू–राजनीतिक अवस्थाका कारण शान्ति स्थापना कार्य थप चुनौतीपूर्ण बन्दै गए पनि उनीहरू निरन्तर सक्रिय रहेको उल्लेख गरिएको छ ।
सन् १९४८ देखि हालसम्म शान्ति स्थापनाका क्रममा हिंसा, दुर्घटना तथा रोगका कारण चार हजार पाँच सयभन्दा बढी शान्ति सैनिक, प्रहरी तथा नागरिक कर्मचारीले ज्यान गुमाइसकेको तथ्याङ्क राष्ट्रसङ्घले सार्वजनिक गरेको छ । सन् २०२५ मा मात्रै ५९ जना शान्ति सैनिकको ज्यान गएको उल्लेख गरिएको छ ।
राष्ट्रसङ्घले लाइबेरिया, नामिबिया, कम्बोडिया, सियरा लियोन तथा टिमोर-लेस्ते लगायत द्वन्द्व प्रभावित मुलुकमा शान्ति सैनिकको उपस्थितिले दीर्घकालीन शान्ति स्थापना तथा सामाजिक पुनर्निर्माणमा उल्लेखनीय योगदान पुगेको जनाएको छ ।


प्रतिकृया दिनुहोस