गगन थापाद्वारा गणतन्त्र रक्षा र सुदृढीकरणमा सबैलाई जिम्मेवार भूमिका निर्वाह गर्न आह्वान
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।
२०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप गणतन्त्र स्थापना भएको स्मरण गर्दै उनले वर्तमान शासन व्यवस्थाको संस्थागत सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।
थापाले यही व्यवस्थालाई थप सुदृढ गर्दै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।
त्यसैगरी, उनले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माणको साझा यात्रामा गणतन्त्र दिवसले सबै नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने बताएका छन् ।
यस्तै, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि शुभकामना सन्देश जारी गर्दै संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई समुन्नत राष्ट्रका रूपमा अघि बढाउन सकिने बताएका छन् ।


प्रतिकृया दिनुहोस