झापाको दमकमा रतुवा खोलामा अज्ञात महिलाको शव फेला
झापा । दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बुधबार बिहान अज्ञात महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८३ साल जेठ १६ गते बिहान करिब ११:०० बजेको समयमा खोलामा बगिरहेको अवस्थामा उक्त शव फेला परेको हो। प्रारम्भिक अनुमान अनुसार शव २–३ दिनअघिदेखि पानीमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार करिब ३०–३२ वर्ष उमेर समूहकी जस्तो देखिने उक्त महिलाले रातो भेष्ट र जिन्स पेन्ट लगाएको अवस्थामा शव फेला परेको हो। शव सेतो प्लास्टिकको बोरामा राखिएको अवस्थामा भेटिएकोले घटनालाई शंकास्पद मान्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा अनुसन्धान टोली खटिएको छ भने घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
हालसम्म मृतकको पहिचान खुल्न नसकेको भन्दै प्रहरीले मृतकलाई चिन्ने जो–कोहीलाई नजिकको प्रहरी कार्यालय वा निम्न सम्पर्क नम्बरहरूमा जानकारी गराउन अनुरोध गरेको छ।
सम्पर्क नम्बरहरू: १००, ९८५२६७०६०९, ९८५२६९००३१, ९८५२६९०२३२
प्रहरीले घटनाको वास्तविक कारण र मृतकको पहिचान खुलाउन सर्वसाधारणको सहयोग आवश्यक रहेको पनि जनाएको छ।


प्रतिकृया दिनुहोस