• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

बजेटमाथि प्रतिनिधि सभामा आजदेखि बहस

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधि सभामा आजदेखि औपचारिक छलफल सुरु हुँदै छ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

अर्थमन्त्री वाग्लेले यही जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।

प्रस्ताव पेश भएपछि विभिन्न दलका सांसदहरूले बजेटका प्राथमिकता, कार्यक्रम, स्रोत व्यवस्थापन तथा कार्यान्वयन पक्षका विषयमा आफ्नो धारणा राख्नेछन्।

संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बजेटमाथिको सामान्य छलफल आजबाट सुरु हुने र त्यसक्रममा सांसदहरूले बजेटका विभिन्न पक्षबारे आफ्नो धारणा प्रस्तुत गर्नेछन्।

सरकारले प्रस्तुत गरेको बजेटमा आर्थिक वृद्धि, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ। बजेटमाथिको छलफलपछि विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकमाथि समेत विस्तृत छलफल हुने संसदीय कार्यतालिका रहेको छ।

प्रतिकृया दिनुहोस
↑