• २९ असोज २०८३, बिहीबार
  • Thursday,15 October,2026

प्रधानमन्त्रीको अभिव्यक्तिबारे एमालेको कडा आपत्ति, माफी माग्न प्रमुख सचेतक महरको माग

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सत्ता र प्रतिपक्ष दुवै पक्षबाट आलोचना तीव्र बनेको छ। सोमबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्नुभएकाे छ । 

बैठकमा बोल्दै उहाँले संविधान र लोकतान्त्रिक व्यवस्था नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै त्यसको मर्यादा कायम राख्नुपर्ने बताउनुभयाे । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिलाई आपत्तिजनक भन्दै त्यसको अभिलेख संसदबाट हटाउनुपर्ने धारणा राख्नुभयाे । 

महरले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अभिन्न भूभाग भएको दाबी गर्दै नेपालले कुनै पनि विदेशी भूमि अतिक्रमण नगरेको स्पष्ट पारे। उनले यस विषयमा भ्रम फैलिने खालका अभिव्यक्ति अस्वीकार्य हुने बताउनुभयाे । 

उहाँकाे  अनुसार प्रधानमन्त्रीको भनाइले अन्तर्राष्ट्रिय स्तरमा समेत गलत सन्देश गएको र नेपाली स्वाभिमानमा असर परेको छ। उनले विदेशी मिडियामा यस विषयलाई लिएर देखिएको प्रतिक्रियाप्रति पनि आपत्ति जनाउनुभयाे । 

संसदमा जारी बहसका क्रममा उहाँले  प्रधानमन्त्रीको पोसाकबारे समेत टिप्पणी गर्दै संसदीय मर्यादा कायम राख्नुपर्ने बताउनुभयाे । महरले सदनलाई औपचारिक र गरिमामय थलोका रूपमा व्यवहार गर्नुपर्ने उल्लेख गर्दै अनौपचारिक शैलीले गलत सन्देश जाने बताउनुभयाे । 

उहाँले  प्रधानमन्त्रीले माफी नमागेसम्म संसदमा विरोध जारी रहने चेतावनी समेत दिनुभएकाे छ । 

प्रतिकृया दिनुहोस
↑