• २८ असोज २०८३, बुधबार
  • Wednesday,14 October,2026

रवि लामिछाने दिल्लीमा, भाजपा मुख्यालयमा उच्चस्तरीय भेटवार्ता

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

 

नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार भारतको नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालय पुगेका छन्। उनले भाजपा नेतृत्वसँग औपचारिक भेटवार्ता गरेका हुन्।

भेटका क्रममा उनले हालै नियुक्त भएका भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग छलफल गरेका थिए। सो भेट ‘भाजपालाई जान्नुहोस्’ अभियानसँग सम्बन्धित कार्यक्रमअन्तर्गत भएको बताइएको छ।

भेटवार्तामा दुई पक्षबीच पार्टीगत संगठन सञ्चालन, लोकतान्त्रिक अभ्यास, तथा जनमुखी राजनीतिक गतिविधिहरूका विषयमा विचार आदान–प्रदान भएको जनाइएको छ। भाजपा नेतृत्वले नेपाली प्रतिनिधिमण्डललाई औपचारिक रूपमा स्वागत गर्दै यस्तो संवादले दुई दलबीच आपसी समझदारी र सहकार्यको वातावरण बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरेको छ।

भाजपाले सञ्चालन गर्दै आएको ‘भाजपालाई जान्नुहोस्’ कार्यक्रम विदेशी राजनीतिक प्रतिनिधिहरूलाई पार्टीको इतिहास, विचारधारा, संगठन संरचना र समसामयिक गतिविधिबारे जानकारी गराउने उद्देश्यले सञ्चालन हुँदै आएको अभियान हो।

यसअघि सन् २०२३ मा भाजपाको स्थापना दिवसका अवसरमा तत्कालीन अध्यक्ष जेपी नड्डाले उक्त कार्यक्रमको सुरुवात गरेका थिए। पछिल्लो समय नयाँ अध्यक्ष नितिन नवीनले पार्टीको विचार र यात्राबारे निरन्तर रूपमा विभिन्न छलफल र प्रस्तुति गर्दै आएका छन्।

लामिछानेको यो भ्रमणलाई नेपाल–भारतबीचका राजनीतिक दलहरूबीच संवाद विस्तारतर्फको एउटा कदमका रूपमा पनि हेरिएको छ।

प्रतिकृया दिनुहोस
↑