ट्रम्पको चेतावनीपछि तेलको मूल्य बढ्यो, अमेरिकी सेयर बजारमा गिरावट
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने अमेरिकी सेयर बजारमा गिरावट देखिएको छ।
ट्रम्पले आइतबार फक्स न्युजसँगको अन्तर्वार्तामा इरानसँग सहमति हुन नसके अमेरिकाले पुनः सैन्य कारबाही गर्न सक्ने तथा विश्व ऊर्जा व्यापारका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यमा नियन्त्रण कायम गर्न सक्ने संकेत गरेका थिए। उनको उक्त अभिव्यक्तिपछि विश्व तेल बजारमा मूल्य वृद्धि भएको हो।
ब्रेन्ट कच्चा तेलको मूल्य १.३५ प्रतिशतले बढेर प्रतिव्यारेल ८१.६६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य २.४ प्रतिशतले बढेर प्रतिव्यारेल ७७.६६ अमेरिकी डलर पुगेको छ।
अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा जारी वार्ता होर्मुज जलडमरूमध्य, लेबनानमा युद्धविराम तथा इरानको आणविक कार्यक्रमलगायत विषयमा केन्द्रित भए पनि आइतबार केही समयका लागि अवरुद्ध भएको थियो। यद्यपि अमेरिकी अधिकारीहरूले वार्ता पूर्ण रूपमा टुङ्गिन नसकेको र संवाद प्रक्रिया निरन्तर जारी रहेको बताएका छन्।
ट्रम्पले आवश्यक परे सो क्षेत्रबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्न सकिने सम्भावनाबारे पनि धारणा व्यक्त गरेका छन्। हाल दुवै पक्षबीच भएको समझदारीअनुसार ६० दिनसम्म जलमार्ग सञ्चालनमा कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था रहेको बताइएको छ।
यसअघि इरानले अमेरिकामाथि आफ्ना प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै होर्मुज जलडमरूमध्य बन्द गर्ने चेतावनी दिएको थियो। यसले क्षेत्रीय तनावलाई थप बढाएको विश्लेषण गरिएको छ। ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार वार्ता सफल भई ढुवानी प्रणाली सामान्य अवस्थामा फर्किएमा विश्व बजारमा तेलको आपूर्ति उल्लेखनीय रूपमा बढ्न सक्छ।
यसैबीच, बढ्दो भू–राजनीतिक तनाव र राजनीतिक अनिश्चितताका कारण अमेरिकी सेयर बजारमा पनि नकारात्मक प्रभाव परेको छ। डाउ जोन्स फ्युचर्स र एस एन्ड पी ५०० फ्युचर्स ०.४ प्रतिशतले घटेका छन् भने नास्डाक फ्युचर्स ०.६ प्रतिशतले ओरालो लागेको छ।
अमेरिकामा पेट्रोलको औसत खुद्रा मूल्य प्रतिग्यालेन करिब ३.९४ अमेरिकी डलर पुगेको बताइएको छ। यो मूल्य एक महिनाअघिको तुलनामा कम भए पनि क्षेत्रीय तनाव सुरु हुनुअघिको अवस्थाभन्दा अझै उच्च रहेको जनाइएको छ।
लोकप्रिय
सम्बन्धित खवर
-
तुलसीलाल र भीमदतले सुरु गरेको किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह
-
ब्रड पिक हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुखद् अन्त्य : महासचिव पोखरेल
-
शैक्षिक परामर्श नियमावलीमा व्यवसायीको मिश्रित प्रतिक्रिया, व्यावहारिक संशोधनको माग
-
२५ लाख रुपैयाँ धरौटीको व्यवस्था पुनरावलोकन गर्न माग, सरकारले बेवास्ता गरे चरणबद्ध आन्दोलन गर्ने घोषणा


प्रतिकृया दिनुहोस