• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

रामेछापमा मरेपछि पनि बारम्बार मारिए तुलबहादुर

लेख / विचार

लेख / विचार

नवराज पथिक -

रामेछापमा तुलबहादुर मगर २४ घन्टाभन्दा थोरै अवधीमा कैयन पटक मरे । गत मंगलबार राति उनको निधन भयो । अस्पतालमा शव थियो । त्यसपछि कोरोनाका कारण उनको ज्यान गयो भन्ने हल्ला चलाइयो । मरिसकेका तुलबहादुरलाई त्यसपछि विभिन्न तरिकाले विभिन्न मानिसले मारे ।  

रामेछापको सदरमुकाम मन्थली स्थिति तामाकोसी अस्पतालमा मंगलबार साँझ उच्च ज्वरोका कारण भर्ना भए मन्थली–११ का ६७ वर्षीय तुलबहादुर मगर । सोही राति उपचारको क्रममा उनको निधन भयो । 

विश्वव्यापी फैलिएको कोरोना महामारीका बेला ज्वरो आएका विरामीको उपचारको क्रममा ज्यान गयो । कोरोनाको प्रमुख लक्षण नै उच्च ज्वरो हो । त्यसैले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु सजग हुनु स्वाभाविक नै हो । सानो त्रुटीले संक्रमण फैलन के बेर ! यहि निष्कर्ष निकाल्दै चिकित्सकहरुले मृतकको स्वाव परीक्षणका लागि काठमाडौं पठाए ।

परीक्षणको रिपोर्ट नआउँदासम्म उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु पनि एकान्तबासमा बसे । मृतकको स्वाव परिक्षणका लागि बुधबार बिहानै काठमाडौँ पठाइएको थियो । 

उनको निधन भएको सूचना बाहिरिने बित्तिकै सामाजिक सञ्जालका एकखाले प्रयोगकर्ताहरुले जोडदार मसला पाए । लकडाउनमा बेकामे भएर बसेकाहरुले पनि राम्रै खुराक पाए । बुधबार उज्यालो हुन नपाउँदै सामाजिक सञ्जाल रामेछापमा कोराना भित्रिएको र कोरोनाको कारण ती वृद्धको मृत्यु भएको खबरले भरियो । सञ्चारमाध्यमहरुमा पनि दिनभरि सो खबरले प्राथमिकता पायो । सिंगो जिल्ला आतंकित भयो । अझ मन्थली बजार त स्तब्ध र ठप्प नै भयो । 

आफन्तहरु तुलबहादुरको शव छेउ पर्न सकेनन् । गाउँलेहरु त झन् मलामी जाने कुरै भएन । मृतकको शव आफन्तहरुले बुझे, तीनचार जना गएर नदी किनारमा डोजर लगाएर खाडल खनेर गाडे ।

मृतकका परिवारमा ग्लानी देखिन्थ्यो । तुलबहादुरले जुन सम्मान साथ अन्त्येष्टी पाउनुपर्ने थियो, पाएनन् । उनी विदेश गएका थिएनन् । घर छाडेर कतै घुम्न गएका थिएनन् । वर्षौंदेखि दमका विरामी थिए । बाहिरबाट आएका नयाँ मानिसिसँगग पनि उनको भेट भएको थिएन ।

दमका विरामी भएकाले गाउँ घुम्न पनि राम्ररी सक्दैनथे । कसरी कोरोना संक्रमण भयो होला ? कसरी सर्‍यो होला ? दिनभर परिवारजनले यस्तै विमर्श पनि गरेका थिए । तुलबहादुरलाई कोरोना भएको परिवारजनलाई खासै विश्वास थिएन । तर, सामाजिक सञ्जाल र सञ्चारमध्यमले यति जोडदार रुपमा कोरोना संक्रमण प्रमाणित गर्न खोज्दै थिए  कि परिवारजनले कोरोना होइन भन्ने आँट  गर्न सकेनन् । परिवार निरीह बन्यो । 

अस्पतालले साँझसम्म रिपोर्ट आउने जानकारी गराएको थियो । तर साँझसम्म पर्खने कसैलाई फुर्सद भएन र पर्खन आवश्यक पनि ठानेनन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता र सञ्चारमाध्यहरुले त अस्पताललाई सोध्न पनि आवश्यक ठानेनन् । कतिपय जानेबुझेका जिल्लाका जिम्मेवार भनिएका मानिसहरुले नै ‘रामेछापमा महाविपत भित्रियो’ भन्ने स्टाटस समेत हल्न भ्याए । उनीहरुले न मृतकको परिवारसँग बुझे, न उनको रोग र उनको इतिहास बुझे । 

जर्बजस्ती तुलबहादुरको शरिरमा कोरोनाको बिल्ला भिराइदिए । तुलबहादुरको लाश देखाएर अनि उनको परिवारको आँशुले सिंचाई गरेर रामेछाप जिल्लामा कोरोनालाई ‘भव्य स्वागत’ गरियो । 

अपरान्हसम्म अवस्था यस्तो बन्यो कि वडाअध्यक्षले विज्ञप्ति नै निकाल्नु पर्‍यो । मथ्नली ११ का वडाअध्यक्ष भिमबहादुर मगरले अपरान्ह विज्ञप्ति निकाल्दै भने, ‘मृतक दमका दिर्घरोगी हुन् । घरमा ज्वरो आएर थलिएका थिए । निमोनियाले सताएपछि उपचारको लागि अस्पताल लगेकोमा उनको अस्पतालमै मृत्यु भएको हो । उनको पृष्ठभूमिलाई हेर्दा कोरोना संक्रमण हुनसक्ने कुनै सम्भावना देखिँदैन । तैपनि परिक्षणको लागि पठाएकाले रिपोर्ट नआउँदासम्म धैर्य गरौँ तर सावधानी भने सबैले अपनाऔँ ।’

विज्ञप्ति निकालेर वडा र जिल्लावासीलाई सान्त्वना दिन खोज्ने वडाअध्यक्ष विरुद्ध नै सामाजिक सञ्जालका एकखाले प्रयोगकर्ताहरु खनिएको देखियो । वडाअध्यक्षलाई यस्तो विज्ञप्ति निकाल्ने अधिकार कसले दियो ? भन्ने सम्मका प्रश्न सामाजिक सञ्जालमा देखिए । कतिपयले वडाअध्यक्ष डाक्टर बन्ने ? भन्दै प्रश्न गरे । 

डर, त्रास, आरोप प्रत्यारोप बीच साँझ मृतकको स्वाव परिक्षणको रिपोर्ट आयो, रिपोर्टमा कोरोना देखिएन । अर्थात् उनको निधन कारोनाका कारण नभएको पुष्टि भयो । मृतकको रिपोर्ट नआउँदासम्म तामाकोशीमा जति पानी बग्यो, त्योभन्दा धेरै रामेछापमा अफवाह बग्यो । 

मलामी नपाएर २⁄४ जना परिवारका सदस्यको बीचमा मृतकको अन्त्येष्टी भइसकेको थियो । सामाजिक सञ्जालमा धेरै आरोप, प्रत्यारोप र एक आपसमा गालीगलौज समेत भईसकेका थियो । सामाजिक सञ्जालमा ठूलै वाकयुद्ध मच्चिसकेको थियो । साँझ रिपोर्ट आएपछि यी सबै कुराले बिश्राम पायो र जनजीवन केही सामान्य बन्यो । 

यो मन्थलीको एउटा प्रतिधिनि घटना हो । अहिले यस्ता घटना देशभरि भइरहेको छ । कुनै पनि रोगबाट बच्न मानिसलाई औषधि चाहिन्छ नै तर अत्मबल पनि चाहिन्छ । कतिपय सन्दर्भमा त आत्मबल नै रामवाण औषधी हो । 

आत्मबल छैन भने औषधी पनि प्रभावकारी नबन्न सक्छ । यस्तो बेला विरामीमा उत्साह थप्नुपर्छ, आत्मबल बढाइदिनुपर्छ । आखिर कोरोना नआउँदा पनि कालगति र अन्य रोगले पनि मानिसको मृत्यु भएकै थियो र भएकै छ । मृत्यु आफैमा नियमित प्रक्रिया हो । यो नियमित प्रक्रियालाई जबर्जस्ती कोरोनासँग जोड्दा यसले समाजमा कस्तो प्रभाव पार्छ ? उनीहरुको परिवारलाई कस्तो चोट पर्छ ? आम मानिसलाई यी प्रश्नले घोचेको देखिएन । बरु, सामाजिक सञ्जाल भनिनेमा लेख्नेबोल्नेहरु असामाजिक बन्दै गएको देखिन्छ ।

कुनै मृत्यु भएपछि उसको उठबस, इतिहास, रोगको इतिहास अध्ययन गर्नु आवश्यक छ । त्यो भन्दा पनि सजिलो ः घटना भएको दिनभरिमा रिपोर्ट नै आउँछ भने कम्तिमा दिनभरि त कुरौँ । जुन रोगको संयम र धैर्य बाहेक अरु उपचार नै छैन भने त्यस्तो रोगबाट बच्न आतंक हैन उत्साह र हौसला प्रदान गरौँ । यस्ता अनर्गल हल्लाले पार्ने मनोवैज्ञानिक प्रभावको बारेमा केही सोचौँ । सकारात्मक र सहि सूचना मात्र प्रवाह गरौँ । दुखद खबर कसले पहिला समाजलाई बताउने भनेर व्यक्ति तथा मिडियाले होडबाजी नगरौं । 

तुलबहादुरले सम्मानपूर्वक अन्त्येष्टी समेत पाएनन्, मलामी समेत पाएनन् । यसको जिम्मेवार तुलबहादुर हुन् त ? अहँ होइनन् । सामाजिक सञ्जालमा असामाजिक बन्नेहरु र पुष्टी नभएको तथा झुठो खबर फैलाउन रमाउनेहरुले मरिसकेका तुलबहादुरलाई फेरि पनि मारे । 

ज्यूँदो परिवारलाई मरेतुल्य नबनाउँ, मरेकालाई बारम्बार नमारौं । यस्तो अपराध अब कसैले नगरौं ।


 

प्रतिकृया दिनुहोस