• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

ओली सरकारलाई रमेश पाैडेल कति अंक दिन्छन् ?

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले वर्तमान सरकारको कामको मूल्यांकन गर्दै उच्च अंक दिएका छन् । उनको भनाई छ– ‘यो पन्ध्र महिनाको काम हेर्दा केपी शर्मा ओली सरकारलाई डिस्टिङसन दिन सकिन्छ ।’

सनराइज खबरले थालेको ‘यो सरकार कस्तो लाग्दैछ ?’ वार्ता श्रृङखलाका लागि टेकन्द्र बुढाथोकीसँग वार्ता गर्दै रमेशले सरकारको पन्ध्र महिनाको कामको सकारात्मक र नकारात्मक दुवै पक्षको चर्चा गरेका थिए । 

सरकारको सकारात्मक पक्षको चर्चा गर्दै रमेशले यस अवधीमा नेपालको आर्थिक वृद्धिदर उच्च रहेको चर्चा गरे । उनले भने– ‘नेपालको आर्थिक वृद्धिदर सात प्रतिशत हाराहारी पुग्दैछ । केही वर्षमै दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्दैछ । जबकी यूरोपका फ्रान्स, स्वीडेन, स्वीट्जरल्याण्ड जस्ता देशको आर्थिक वृद्धिदर नेपालभन्दा धेरै पछाडि छ ।’

 

‘कुनै जमाना थियो हरेक नेपालीको घरमा एउटा गाई हुनुपर्छ भन्ने खालको विकास अवधारणा थियो, कतिपय मानिस र राजनीतिक दल आजको युगमा पनि त्यस्तै खाले अवधारणा बोकेर हिँडेका छन्’– उनले भने– ‘अहिलेको सरकारले तीनवटा अन्तराष्ट्रिय विमानस्थल बनाउँदैछ । देशभरी सडक सञ्जाल विस्तार गर्दैछ, सर्वत्र विकास निर्माणको काम गरिरहेको छ ।’

सरकारले ल्याएको पछिल्लो बजेटले देशमा उत्साह जगाएको उनले बताए– ‘बजेट भनेको अंकगणित मात्र होइन, राजनीतिक दस्तावेज पनि हो ।’

रमेशले सरकारको नकारात्मक पक्षको पनि खुलेर चर्चा गरेका छन् । उनको भनाई छ– ‘विरोध गर्छन् कि भन्दै यो सरकार डराउने होइन । सरकारले दह्रोसँग साहसिक निर्णय लिन सकिरहेको छैन । देश बनाउन सरकार कडाईसाथ प्रस्तुत हुनुपर्छ ।’

सरकारको राम्रो पक्ष र कमजोर पक्ष सोधिसकेपछि टेकेन्द्रले सोधेका छन्– ‘यो सरकारलाई कति अंक दिनुहुन्छ ?’

जवाफमा रमेशको भनाई छ– ‘डिस्टिङसन भन्दा माथि केही छैन, त्यसैले डिस्टिङसन दिन्छु ।’

प्रतिकृया दिनुहोस