• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

एक आध्यात्मिक वडाध्यक्षका साथ रामायण र महाभारतकालीन ठाउँको खोजी

अस्मिता क्षेत्री

अस्मिता क्षेत्री

 --अस्मिता क्षेत्री--

‘यहाँबाट चारैतिर जता हेरे पनि, जता खोजे पनि प्राचीन ईंट्टा र भग्नावेशहरु मात्र पाइन्छ’– जंगल बीचमा कृष्णप्रसाद पौडेलले भन्नुभयो । 

चितवनको माडी वडा नम्बर १ का अध्यक्ष हुनुहुन्छ कृष्णप्रसाद । युवा जोश र उर्जाले भरिएका कृष्णप्रसाद विज्ञान र गणितका विद्यार्थी हुुनुहुन्छ । माडीको सोमेश्वर पहाडको घना जंगल बीचमा उहाँ भन्दै हुनुहुन्थ्यो– ‘यो सोमेश्वर पहाड हो, स्कन्दपुराणमा समेत यो पहाड बारे उल्लेख छ ।’

‘मैले धेरै महाभारत पढें, गीता पढें’– कृष्णले भन्नुभयो – ‘दुईटा विषयमा स्नातकोत्तर गरेपछि नर्वे गएँ, करिब ६ वर्ष बिताएँ अनि नेपाल फर्किएँ । मलाई माटोले बोलायो, मेरो धर्म र संस्कृतिले बोलायो । मेरो गाउँका जनताको मायाले बोलायो ।’

रुपरंग र पोशाक हेर्दा कृष्णप्रसादलाई अध्यात्ममा चुर्लुम्म डुबेका मानिस भनेर पत्याउन गाह्रै पर्छ । उनै कृष्णप्रसादसँग हामीले माडीको महाभारत र रामायणकालीन महत्वपूर्ण ठाउँ दिनभर घुम्यौं ।

हामीले यात्रा थाल्यौं शालिग्राम नदीबाट । माडीको दक्षिणपट्टि रहेको सोमेश्वरको फेदमा शालिग्राम नदीको किनारमा पाँच पाण्डव मन्दिर छ । नदीमा जताततै पाइन्छ शालिग्राम । 

एउटा सुन्दर शालिग्राम टिपेर देखाउँदै कृष्णले भन्नुभयो– ‘विश्वमा दुई ठाउँमा मात्र पाइन्छ शालिग्राम । एउटा ठाउँ हो कालीगण्डकी नदी । अर्काे हो माडी ।’

त्यसपछि हामी गयौं भीम इनार । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा हामी पस्दा केही पर फाँटमा हरिणको वथान विचरण गरिरहेको थियो । स्थानीयवासी भन्दै थिए– ‘साँझपख गैंडा पनि प्रशस्त देखिन्छ ।’

अनि, देखिनसक्ने अर्काे जनावरको नाम सुनेर हाम्रो सातो गयो– बाघ । हो, यहाँ बाघ पनि पाइन्छ ।

हामी धेरैजना थियौं । एक्लैदुक्लै यो ठाउँमा आउन गाह्रो रहेछ । भीम इनार देखेर हामी छक्कै पर्‍यौं । इनार भन्नासाथ हामीले सामान्य इनार ठानेका थियौं । तर, सामान्य इनारभन्दा यो इनार कताहो कता ठूलो थियो । 

सामान्य इनारभन्दा करिब १२ गुणा ठूलो इनार । यो घना जंगल बीचमा कसले बनायो होला यति ठूलो इनार ? यो प्रश्नको जवाफ केही हदसम्म दियो वरिपरिका ईंट्टाहरुले । इनार रहेको क्षेत्रमा सर्वत्र प्राचीन ईंटा देखिन्छ । कृष्णले भन्नुभयो– ‘यहाँ जताततै माटोका भाँडाका टुक्रा पनि देखिन्छ ।’

हाम्रो साथमा जानुभएकी स्थानीय दिलशरा परियारले भन्नुभयो– ‘केही वर्ष पहिले मैले माटोको सग्लो भाँडा भेटेर घर लगेकी थिएँ । पछि फुट्यो । यति महत्वको चिज भन्ने थाहा भएको भए म सरकारलाई बुझाईदिन्थें ।’

भीम इनार कति गहिरो छ भन्ने थाहा पाउन सकिएन । किनभने समयको कठोर प्रवाहमा वेवारिस बनेको इनार भित्र सयौं जीवजन्तु खसेर मरे होलान्, माटो ढुंगा पस्यो होला । र, इनारको सतह धेरै बढ्यो होला । तैपनि अहिले अनुमानित दस मिटर गहिरो छ इनार । 

केही वर्ष अघि इनारको किनार शमी रुखको जराले भत्कायो । त्यसबेला यसलाई सामान्य मर्मत गरिएको स्थानीय धनबहादुर गुरुङले बताउनुभयो । इनारको सतहमा विभिन्न किसिमका सिक्का भेटिएको उहाँले सुनाउनुभयो– ‘हामीले तीन बोरा सिक्का निकाल्यौं । ती सिक्का चितवन राष्ट्रिय निकुञ्जले मुचुल्का बनाएर लगेको छ । अहिले ती सिक्काको अवस्था के छ भन्ने हामीलाई थाहा छैन ।’

भीम इनारबाट हामी सीधै उकालो लाग्यौं । उकालो यति कि नाक ठोकिने । बाटो थिएन । कृष्णको साथमा आउनुभएका केही महिलापुरुषले हसियाँ र खुर्पा ल्याउनुभएको थियो । बाटोको झाडी फाँड्दै बाटो बनाएर उकालो लाग्यौं । उकालो लाग्दा जताततै प्राचीन ईंटा र चारकुना मिलाएर काटिएको ढुंगा देखिन्थ्यो । माटोको भाँडाका टुक्राटाक्री पनि प्रशस्त देखिन्थ्यो । 

डाँडाको टुप्पामा पुग्न धेरै सकस झेल्नुपर्‍यो । डाँडामा प्राचीन किल्ला रहेछ । कृष्णको भनाई छ– ‘यो गढी हो । यो प्राचीन दरबार क्षेत्र हो भन्ने इनारले पनि पुष्टि गर्छ । यो गढी सुरक्षाका लागि बनाइएको हो । यहाँबाट पारी राप्ती नदीको फाँट प्रष्टै देखिन्छ । कसैले नदी तर्न लाग्यो भने पनि यो गढीबाट देखिन्छ ।’

उहाँले भन्नुभयो– ‘यो डाँडा र आसपास सर्वत्र प्राचीन इँट्टा र भग्नावशेष देखिन्छ । प्राचीन कालमा यो उन्नत सभ्यता थियो । यहाँ पाइने ईंट्टाको आकार र स्वरुप जस्तो छ, लुम्बिनीमा पनि त्यस्तै छ । यसको अर्थ यो निकै प्राचीन सभ्यता हो ।’

अघिल्लो दिन हामी माडी नगरपालिकाको वडा नम्बर ८ पुगेका थियौं । विगतमा त्यो वडा अयोध्यापुरी गाविस थियो । पछि माडीमा गाभियो । त्यहाँका वडाअध्यक्ष पनि कृष्ण नै हुन्। एक नम्बरका कृष्णप्रसाद र ८ नम्बरका चाहिँ कृष्णराज अधिकारी । त्यहाँको एक खेतको ढिस्कोमा प्राचीन इँटाहरु र सिक्का कृष्णराजले भेट्नुभएको थियो । 

भीम इनारदेखि अयोध्यापुरीसम्म सर्वत्र प्राचीन सभ्यताका अवशेष । तर, यो सभ्यता कस्तो थियो ? हामीसँग जवाफ छैन । कृष्णप्रसाद भन्नुहुन्छ– ‘निश्चय पनि माडी क्षेत्र प्राचीन सभ्यताको केन्द्र थियो । यो सभ्यता महाभारत र रामायणकालीन समयदेखि शुरु भएर केही सय वर्ष अघि अन्त्य भएको अनुमान लगाउन सकिन्छ ।’

उहाँको दावी छ– ‘यति उन्नत सभ्यता छोटो समयमा बनेको होइन । अवश्य हजारौं वर्ष लाग्यो । यसको पुरातात्विक खोजी हुन जरुरी छ ।’

त्यसपछि हामी फेदीको वस्ती फर्कियौं । यो वस्तीमा वोटे समुदायको बाहुल्य छ । त्यहाँ खाना खाएर हामी देवता खोलाको किनारैकिनार आधा घन्टा माथि गयौं । त्यहाँ विश्वकै दोस्रो ठूलो प्राकृतिक शिवलिंग भएको मन्दिर पुग्यौं । मन्दिर पुगेपछि कृष्णले भन्नुभयो– ‘२०५२ सालमा यो शिवलिंग स्थानीय गोठालाहरुले पत्ता लगाएका हुन् । यहाँ पनि प्राचीन ईंट्टा र भग्नावशेष जताततै पाइन्छ ।’

शिव मन्दिरको प्राङगणमा कृष्णप्रसाद ध्यान मुद्रामा बस्नुभयो । त्यसपछि महाभारतका कथा भन्न थाल्नुभयो । महाभारत युद्धको कारण के थियो ? यसबारे उहाँले लामो व्याख्यान दिनुभयो । त्यसपछि सनराइज सहकर्मी राजकुमार रेग्मीले सोध्नुभयो– ‘महाभारत युद्धका लागि श्रीकृष्णलाई दोषी मान्न सकिन्छ कि सकिँदैन ?’

जवाफमा कृष्णले भन्नुभयो– ‘सामान्य कथा मात्र थाहा पाउनेले कृष्णलाई दोषी मान्छन् होला तर महाभारतको दर्शन पक्ष र त्यसको अन्तर्य नियाल्ने हो भने कृष्ण दोषी होइनन् । त्यसबेला युद्ध समयको माग थियो । मानिसको समाज यस्तो छ कि यसले बेलाबेलामा युद्धको माग गर्छ । महाभारत युद्धलाई यो कोणबाट पनि हेर्न सकिन्छ ।’

असाध्यै गहिरो ज्ञान छ कृष्णलाई महाभारत र गीताको । भन्नुहुन्छ– ‘गीताबाट असाध्यै प्रभावित छु ।’

शिव मन्दिरबाट ठाडो उकालो चढेर हामी कुकुरनाथ र बिरालोनाथ मन्दिर पुग्यौं । वास्तवमा त्यहाँ छाना र भित्ता भएको कुनै मन्दिर छैन । जे छ जमिनमै छ । जमिनमा मूर्ति स्वरुपका ढुंगा छन् ।
कुकुरनाथ विरालोनाथको डाँडामा उभिएर कृष्णले परको डाँडा देखाउनुभयो र भन्नुभयो– ‘त्यो डाँडामा छ भिम इनार, त्यसको सीधा माथि गढी छ । भिम इनार, यो मन्दिर र माथि पर्वतमा रहेको सीताराम गुफा समानान्तर रेखामा छ । यसको खास केही अर्थ छ ।’

तर, वर्षायाम भएकाले हामी सीताराम गुफासम्म पुग्न सकेनौं । कृष्णप्रसादका अनुसार सीताराम गुफा आसपास मात्र नभएर जंगलमा सर्वत्र प्राचीन वस्तुका अवशेष देख्न सकिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भन्नुभएपछि हामी यहाँ आएका थियौं । त्यही क्रममा कृष्णप्रसादको सम्पर्कमा पुगेका थियौं । दिनभरी घुमेपछि हामी रेयु नदी किनार पुग्यौं । रेयुलाई देखाउँदै उहाँले भन्नुभयो– ‘यही हो वास्तविक सरयू नदी । सरयू अप्रभंश भएर रेयु भएको हो ।

माडीका १८ मध्ये १३ वटा नदी उत्तरतर्फ बग्छ । रामायणमा अयोध्याका नदी उत्तरवाहीनी छन् भनेर लेखिएको छ । भारतमा जहाँ राम जन्मिएका हुन् भनिन्छ त्यहाँ नदी उत्तर बग्दैन तर यहाँ बग्छ । यसको अर्थ हो– रामको जन्मभूमि माडी नै हो ।’

याे अ‌ालेख सम्बन्धी  भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुस‍्:

 

प्रतिकृया दिनुहोस