• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

ईतिहास बन्ने राम लक्ष्मण हात्तीको कथा

विकास अधिकारी

विकास अधिकारी

काठमाडौं । तपाईंसँग हजार रुपैयाँको नोट छ ? छ भने हेर्नुस् त त्यसमा हात्तीको तस्विर छ ।

पहिलाकाे नेपाली एक हजार रुपैयाँको पुरानो नोटमा भएको हात्तीको तस्विर नेपाली हात्तीको होइन । तर अब इतिहास बदलिएको छ । नेपाली दुई हात्तीले नयाँ इतिहास रचेको छन् । एक हजारको नेपाली नोटको पनि नयाँ इतिहास सुरु भएको छ ।

हेर्दा अरु हात्ती जस्तै हुन् राम लक्ष्मण, तर यीनै हात्तीले नेपालमा ईतिहास रचेका छन् ।  ५१ वर्ष देखि एक छत्र नेपाली रुपैयाँमा प्रयोग भएको ईटालियन हात्तीलाई यी हात्तीले विस्तापित गरेका छन् ।

हात्ती विरलै मात्रै जुम्ल्याहा जन्मिन्छन् । यस्तै राम लक्ष्मण पनि जुम्ल्याहा हुन् । नेपालमा अहिलेसम्मका जुम्ल्याहा हात्ती भनेकै राम लक्ष्मण हुन् । अहिलेसम्म नेपालमा जुम्ल्याहा हात्ती जम्मीएको छैनन्  भने विश्वमा पनि जुम्ल्याहा हात्ती दुर्लभ मानिन्छ ।

जुम्ल्याहा भएकै कारण यीनको नाम राम लक्ष्मण राखिएको हो ।

कुरा त्यती मात्रै होइन । जुम्ल्याहा भएकै कारण यी हात्तीले नेपाली ईतिहास रचेका छन् । अर्थात नेपाली रुपैयाँ एक हजारको नोटमा आफ्नो तस्वीर अंकित गराउन सफल भएका छन् ।

राम लक्ष्मणका आमाको नाम हो देवीकली । देवीकली भारत बाट  ल्याइएको हो ।

नेपाल सरकारले चार वटा गैँडा दिएवापत भारत सरकाले नेपाललाई १६ वटा हात्ती दिएको थियो । त्यही १६ वटा  हात्ती मध्येकी एक हुन् देवीकली ।

देवीकलीले दोश्रो पटकमा राम लक्ष्मणलाई जन्म दिएकी हुन् ।  पहिलो पटकमा कृष्णप्रसादलाई जन्म दिएकी थिइन् ।

कृष्णप्रसाद २०६१ साल साउन २३ गते जन्मिएका थिए । कृष्ण प्रसाद पनि अहिले हात्ती सारमा राम लक्ष्मण जस्तै आफ्नो काम गरेर बसेका छन् ।

राम लक्ष्मण सौराहको हात्ती प्रजनन् केन्द्रमा जन्मिएका हुन् । २०६५ साल मंसिर २२ गते रातको ११ बजे राम जन्मिएका हुन् । २३ गते बिहान  ३ बजे लक्ष्मण  जन्मिएका हुन्  ।

राम लक्ष्मणका आमा देवीकली अहिले फेरि सुत्केरी छिन् । उनी अहिले हात्ती प्रजनन् केन्द्रमा छिन् र नयाँ सन्तान हुर्काइरहेकी छिन् ।

प्रजनन् केन्द्रमा राम लक्ष्मणलाई माहुतेले विभिन्न तालिम दिए पछि उनीहरुलाई आ– आफ्नो काममा लगाइएको  छ । पहिला राम र लक्ष्मणको काम गर्ने थलो एउटै थियो तर अहिले फरक भएको छ ।

यसको पनि कारण छ । राम र लक्ष्मण एउटै कार्य क्षेत्रमा काम गर्दथे ।  तर उनीहरुलाई सँगै काम गरेको फापेन । अर्थात दुई हात्ती मध्य एक विमारी हुँदा अर्को पनि बिमारी पर्न लागे ।  

सोही कारण राम र लक्ष्मणलाई छुट्याइयो । उनीहरुको काम गर्ने ठाउँ अलग अलग भयो ।

राम अहिले सौराहाको हात्ती सारमा छन् । लक्ष्मण कसाराको हात्ती सारमा बस्छन् ।

भाले हात्ती स्यार्न एक दमै कठिनाई हुन्छ । तर राम र लक्ष्मण स्याहार्न कठिनाई छैन ।

संयोगबस राम लक्ष्मण स्याहार्ने दुवै माहुतेको नाम पनि एउटै छ । दुवै हात्ती स्याहार्ने माहुतेको नाम हो विनोद चौधरी  । उनीहरुलाई स्याहर्न एकदमै सजिलो भएको माहुतेहरु बताउनुहुन्छ ।

विनोदका अनुसार राम लक्ष्मण दुबै सोझा छन् । भनेको मान्छन् । आज्ञाकारी छन् ।

यी दुई हात्तीअहिले फरक स्थानमा बसेता पनि उनीहरको काम भने एउटै छ । सुरक्षा कर्मीसँग गएर जंगलको सुरक्षा गर्ने ।

सुरक्षाकर्मी मात्र गस्तीमा जाँदा जोखिम हुने गर्दछ । त्यसैले हात्ती पनि सँगै लैजाने गरिन्छ ।

फरक स्थान बसेपनि अहिले यी हात्तीको दिनचर्याको समय भने एउटै छ । बिहान नौ बजे चर्न जाने । चार बजे चरेर आउँदा आफूलाई खाने घाँस बोकेर ल्याउने ।

कोरोनाको कारण हात्तीको दिनचर्यामा केही परिवर्तन आएको छ । पहिला निकुञ्जमा आउने पर्यटकलाई सौराह घुमाउन लैजाने काम राम लक्ष्मणले पनि  गर्दथे । अहिले त्यो काम रोकिएको छ ।

हात्तीमा पनि मान्छेको जस्तै स्मरण सक्ति हुन्छ । राम लक्ष्मण फरक ठाउँमा भएता पनि उनीहरु भेट हुँदा भने मिल्ने गर्छन् । आफ्नो दाजुभाइलाई चिन्छन् ।

राम भन्दा फरक किसिमको तालिम पाएका छन् लक्ष्मणले । मानिस बसेझै गरेर मुढामा बस्ने । नमस्कार गर्ने । मानिसलाई माला लगाईदिएर आशिर्वाद दिने लक्ष्मणले गर्छन् ।

जन्मदा राम लक्ष्मण एकै रात जन्मिए पनि फरक दिनमा जन्मिएका हु्न्  । जब देवीकलीले रामलाई जन्म दिईन् तुरुन्तै लक्ष्मण जन्मेलान् भन्ने कसैले सोचेको थिएन । किनकि नेपाली माहुतेले हात्तीले जुम्ल्याहा सन्तान जन्माएको भन्ने थाहा नै थिएन ।

 जब बिहान तीन बजे देवीकलीले लक्ष्मणलाई जन्म दिईन सबै आश्चार्य चकित बने । हात्ती प्रजनन् केन्द्रमा खुशीको सीमानै रहेन ।

अहिले फेरि त्यही खुसी माहुतेको अनुहारमा आएको छ । राम लक्ष्मणले नेपाली रुपैयाँ एक हजारको नोटमा आफ्नो तस्वीर राख्न सफल भएका छन् । यी दाजुभाइको अझै नयाँ कृतिमान कायम होस् । अझ नयाँ नयाँ कुरा सुन्न पाइयोस् ।

 

प्रतिकृया दिनुहोस