• २४ असोज २०८३, शनिबार
  • Saturday,10 October,2026

सबै काम छाडेर जनताको ज्यान बचाउँन लाग्छौँ : प्रेम तामाङ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

रामेछाप । कोभिड संक्रमणका बिरामी बढ्दै गएपछि रामेछापको खाँडादेवी गाउँपालिकाले चिकित्सक सहितको आइसोलेसन सेवा सुरु गरेको छ ।

गाउँपालिकाले गाउँ कार्यपालिका भवन नजिकै हाटेचौरमा आइसोलेसन कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार गाउँपालिकाले अहिले सबै वडामा परीक्षणको दायरालाई बढाएको छ । पछिल्लो इभेन्ट सुरु भए यता सो गाउँपालिकामा ९२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ती मध्ये ५१ जना सक्रिय संक्रमित छन् । सो गाउँपालिकाका एक जनाको उपचारको क्रममा काभ्रेको बनेपामा ज्यान गएको थियो ।

अहिले संक्रमण देखिएका अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको भए पनि कुनै पनि बेला समस्या देखिन सक्ने भएकोले पूर्वतयारी स्वरुप आइसोलेसन निर्माण गरिएको तामाङले बताउनुभयो ।

सो आइसोलेसनमा अहिले १५ बेडको व्यवस्था गरिएको छ । १५ कोठा रहेको आइसोलेसन कक्षमा थप १५ बेड राख्न सकिने तामाङले जानकारी दिनुभयो । ‘अहिले १५ बेड राखिएको छ, हामीले अन्य बेड पनि ल्याइराखेका छौँ, आवश्यक पर्यो भने थप १५ बेड राख्न सकिन्छ’, उहाँले भन्नुभयो ।

आइसोलेसनमा स्वास्थ्य सेवा प्रवाहको लागि एक जना डाक्टर र पाँच जना स्टाफ नर्सको व्यवस्था मिलाइएको छ । कोभिड अस्पतालका डाक्टर र दुई जना स्टाफ नर्स तथा एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गतका तीन जना नर्सलाई समेत आइसोलेसनमा परिचालन गरिएको उहाँले बताउनुभयो । ‘अहिले विद्यालय बन्द छन्, त्यसैले उहाँहरुलाई पनि त्यहाँ परिचालन गरेका छौँ’, उहाँले भन्नुभयो ।

आइसोलेसनमा अक्सिजन, औषधी लगायतको सबै व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले अक्सिजनको लागि १० वटा अक्सिजन कन्सर्नटेटर व्यवस्था गरेको छ । विद्युत जोडेपछि आफै ग्याँस उत्पादन गर्ने भएकोले कन्सर्नटेटर निक्कै सहज हुने गरेको उहाँले बताउनुभयो । यस बाहेक अक्सिजनका ग्याँस सिलिण्डरको पनि गाउँपालिकाले व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।

कोभिड नियन्त्रणको लागि संक्रमितको पहिचान गरी त्यसको चेन तोड्नु नै उत्तम विकल्प भएकोले गाउँगाउँमा एण्टिजेन परीक्षणको दायरा बढाउन लागिएको अध्यक्ष तामाङले बताउनुभयो । यसको लागि गाउँपालिकाका नौ वटै वटाका स्वास्थ्य संस्थाका इञ्चार्जलाई एण्टिजेन परीक्षको तालिम दिएर परिचालन गरिएको उहाँले बताउनुभो । ‘अब आवश्यक किटको व्यवस्थापन गरी परीक्षणको दायरा बढाउँछौँ’,उहाँले भन्नुभयो ।

नागरिकको जीवन बचाउने कुरा प्रमुख कुरा भएकोले अहिले सबै कुरा छाडेर आफूहरुको ध्यान कोभिड नियन्त्रणमा केन्द्रित भएको अध्यक्ष तामाङले बताउनुभयो । ‘आवश्यकताको आधारमा औषधी र आवश्यक उपकरण थप्दै लैजान्छौँ, अन्य क्षेत्रको बजेट कटाएर भने पनि संक्रमितको पहिचान, व्यवस्थापन र उपचारमा लाग्छौँ’, उहाँले भन्नुभयो ।

अवस्था सामान्य रहेका संक्रमितलाई स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा राख्ने, लक्षण देखिएका बिरामीलाई गाउँपालिकाको आइसोलेसनमा राख्ने र जटिल समस्या देखिएका बिरामीलाई सुविधानसम्पन्न अस्पतालमा पठाउने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसका लागि अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत उहाँले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस
↑