कोरोना संक्रमितको होम आइसोलेशनमा ज्यान जाँदै
भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोटका सञ्जय थापालाई एक्कासि ज्वरो आयो । अहिलेको मौसमले रुघाखोकी लागेको होला भन्दै घरमा श्रीमती मनमायाले सिटामोल खुवाउनुभयो । उहाँलाई पटकपटक तातोपानी, जाउलो र सुप खुवाउनसभयो ।
दुई दिनसम्म ज्वरो ओर्लिएन । सरकारले होम आइसोलेशनमै बस्न भनेको छ । दोस्रो दिन मनमायाले विभिन्न अस्पतालमा फोन गर्नुभयो, कतै श्यया खाली भएको जानकारी पाइयो । 'अस्पतालमा जुनसुकै बिरामी गए पनि पिसिआर परीक्षण नभई उपचार गर्न निजी अस्पतालले नमान्ने रैछन्, सरकारीमा ठाउँ छैन', उहाँले भन्नुभयो ।
भक्तपुरकै तीन निजी अस्पतालमा कुरा गर्दा संक्रमितको उपचारमा दिनकै ३५ हजार रुपैयाँ शुल्क लाग्ने र त्यो पनि श्यया छैन भन्ने गरिएको उहाँको बुझाइ छ । 'बाहिर निषेधाज्ञा छ, ज्वरो र खोकीको औषधिले अलि कम भएजस्तो भयो तर निको भएन, तेस्रो दिन पिसिआर परीक्षण गर्ने सल्लाह हुँदै थियो, अचानक दिउँसो १ः०० बजे श्वास फेर्न गाह्रो भो, एम्बुलेन्स र अस्पतालको खोजी गर्दागर्दै कोठामा ज्यान गयो', उहाँले सुनाउनुभयो ।
शव व्यवस्थापनका लागि नेपाली सेनालाई भन्दा पिसिआर परीक्षणमा कोरोना पुष्टि भएर वडा कार्यालयले मुचुल्का उठाएर शव प्याक गरेपछि मात्रै लैजाने भन्ने जवाफ दिए । त्यो प्रक्रिया नहुने भएपछि आफन्तको सहयोगमा राति १०ः०० बजे पशुपतिमा शव दाह संस्कारका लागि लगियो ।
मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेका शम्भु कार्कीको अचानक राति अक्जिसनको मात्रा घट्यो । अस्पतालमा श्ययाका लागि हारगुहार गर्दागर्दै बिहान ४ः०० बजे घरमै ज्यान गयो । कोरोना भएपछि होम आइसोलेशनमा बसेकालाई गाह्रो हुने बित्तिकै अस्पतालमा श्यया नपाउँदा उपचार नै नपाएर ज्यान जाने गरेको बताइएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले होम आइसोलेशनमा रहेका सक्रिय संक्रमितमध्ये ३१ जनाको घरमै ज्यान गएको जानकारी दिनुभयो । त्यसमध्ये गत वैशाखयता मात्रै २१ संक्रमितको होम आइसोलेशनमा ज्यान गएको उहाँ बताउनुहुन्छ । यो संख्या संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेकाको मात्रै हो । कतिपयले कोरोना संक्रमणको लक्षण देखिए पनि पिसिआर परीक्षण नगर्ने र सामान्य रुघाखोकीको ज्वरो हो भनेर बस्दा घरमै ज्यान जाने संक्रमितको तथ्यांक कार्यालयले राख्दैन ।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले भाइरससँग मिल्ने लक्षण देखिँदा र संक्रमित व्यक्तिसँग सम्पर्कमा रहेकाले पिसिआर परीक्षण नगरी घरमै बस्दा ज्यान जोखिममा पर्न सक्ने बताउनुभयो । संक्रमण भएर होम आइसोलेशनमा बसेपछि आवश्यक औषधि चलाउन सकिने र श्वासप्रश्वासमा समस्या भए तत्काल अस्पताल लैजान सकिने उहाँको भनाइ छ ।
होम आइसोलेशनमा बस्नेले उचित स्वास्थ्य परामर्श नपाउँदा, सामाजिक सञ्जालमा सङ्क्रमितले खाने भनेर राखिएका औषधि हचुवाको भरमा खाँदा ज्यान जोखिममा पर्ने डा गौतम बताउनुहुन्छ । चिकित्सकसहितको परामर्श दिने व्यवस्था स्थानीय सरकारले समयमै सुरु नगर्दा होम आइसोलेशनमा ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।
भक्तपुरमा आजसम्म १९ हजार तीन सय ४४ संक्रमितमध्ये तीन हजार पाँच सय ४२ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो । अहिले विभिन्न आइसोलेशनमा , होम आइसोलेशनमा तीन हजार तीन सय ३४ जना रहेका छन् भने १५ हजार पाँच सय ५६ संक्रमित निको भएर फर्किएका छन् । संक्रमितमध्ये दुई सय ४६ जनाको ज्यान गएको छ ।
–रासस


प्रतिकृया दिनुहोस