चीन र अमेरिकाबाट एक करोड डोज खोप ल्याउने सरकारकाे तयारी, चिनियाँ खाेप आइतबार आउने
काठमाडाैं । सबै जनतालाई काेभिड विरुद्धकाे खाेप लगाउनका लागि सरकारले तयारी तीब्र पारेकाे छ ।
सरकारले विभिन्न देशसँग खाेप किन्नका लागि प्रक्रिया अगाडि बढाएकाे छ । खाेप सहयाेगका लागि कूटनीतिक पहल गरिरहेकाे छ । चीनले दिने भनेकाे काेभिड विरुद्धकाे खाेप आइतबार काठमाडाैं आइपुग्ने भएकाे छ ।
चीनले अनुदानस्वरुप उपलब्ध गराउने भनेकाे १० लाख डोज भेराेसेल खोपमध्ये २ लाख डोज आइतबार काठमाडौं आइपुग्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री ज्ञवालीले साे जानकारी दिनुभएकाे हाे ।
'चीनले उपलब्ध गराउने १० लाखमध्ये दुई लाख ३० तारिखमा तिब्बतबाट नेपाल आउँछ, बाँकी आठ लाख डोज जुन १ सम्ममा आउँछ'- उहाँले भन्नुभयाे । अनुदान बाहेककाे खाेप पनि चीनसँग किनेर ल्याउने तयारी भइरहेकाे मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।
खाेप किन्नका लागि विभिन्न देशसँग कुरा भइरहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'अबको १०-१५ दिनमा खोप खरिदको विषय टुंगाे लाग्ने छ ।' चीनको भेरोसेल र अमेरिकाको जोन्सन एण्ड जोन्सन खोप खरिदका लागि पत्राचार गरिसकेकाे जानकारी दिँदै उहाँले चीन र अमेरिकाबाट ५०-५० लाख डोज खोप ल्याउने तयारी भइरहेको बताउनुभयाे ।
१७ लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराउन भारतसँग आग्रह गरिरहेको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयाे । अमेरिका, बेलायत लगायत देश नेपाललाई खोप दिन सकारात्मक रहेको भन्दै उहाँले सन् २०२१ को अन्तिमसम्ममा लक्षित समूहलाई लगाइसक्ने गरी काम अगाडि बढाइएकाे बताउनुभयाे ।


प्रतिकृया दिनुहोस