यामाहाका विक्रमः जसलाई अटोमोबाइल नशा लागेको छ
काठमाडौं । ‘अटोमोबाइल सेक्टरमा लागेपछि नशा लाग्छ’– विक्रम शर्मा पौडेल भन्छन् । उनलाई यो नशा लागेको आठ वर्षभन्दा धेरै भयो ।
उनी यामाहाका हेड अफ मार्केटिङ छन् । टु व्हीलर अर्थात् बाइक र स्कुटरको दुनियाँमा उनले आठ वर्ष बिताइसकेका छन् । बाइक तथा स्कुटर चढ्नु र त्यसको व्यापारमा लाग्नु धेरै नै फरक हुन्छ ।
विक्रमले बाइक र स्कुटरलाई दुईवटा पांग्रा भएको वस्तु मात्र देख्दैनन् । भन्छन्– ‘मानिसले बाइक या स्कुटर सजिलैसँग किन्दैनन्, कुनै पनि ब्राण्डसँग प्रभावित भएर मात्र किन्छन् । आफूले किनेको साधनसँग मानिसको विचार र भावना जोडिएको हुन्छ ।’
अर्थात्, बाइक–स्कुटर र ग्राहक बीच पुलको काम गर्छन् विक्रम । सजिलो छैन यो काम । यसका लागि चाहिन्छ गहिरो धैर्य, ग्राहकको रुची र मनोभावना बुझ्ने क्षमता अनि साथमा चाहिन्छ उत्कृष्ट ब्राण्ड । उत्कृष्ट ब्राण्डका रुपमा विक्रमसँग यामाहा छ ।
उनीसँग सक्षम युवाहरुको जोसिलो टिम छ । भन्छन्– ‘यामाहा टप ब्राण्ड हो भन्नेमा शंकै छैन । यो टप ब्राण्ड ग्राहकहरुबीच पुराउने काम गर्नु वास्तवमै गौरवपूर्ण काम हो । यो काम गर्न हामीसँग यामाहा ब्राण्ड जस्तै प्रभावकारी र सक्षम टिम छ ।’
टु व्हीलरको दुनियाँमा डुबेका विक्रमको पढाई र करियर भने फरक फाँटको भयो । उनी मार्केटिङ या बिजनेशको दुनियाँ पढेका होइनन्, विज्ञान पढेका हुन् । भन्छन्– ‘पोष्ट ग्राजुयट र डिप्लोमा कम्प्युटरमा गरेको हूँ ।’
भारतमा शिक्षा हासिल गरेपछि विक्रमसँग अगाडि बढ्ने धेरै बाटो थियो । केही क्षेत्रमा हात पनि हाले तर कतै सन्तुष्ट हुन सकेनन् । उनको करियर यात्रा आइपुग्यो– अटोमोबाइल क्षेत्रमा ।
कम्प्युटरको दुनियाँबाट इन्जिनको दुनियाँमा आइपुगे विक्रम । भन्छन्– ‘यस्तै हुँदो रहेछ जीवनमा । तर, म मार्केटिङ मन पराउँछु । जुनसुकै विषय पढेपनि मानिसले कुन क्षेत्र रोज्छ भन्ने निश्चित उमेर र समयपछि मात्र थाहा हुँदो रहेछ । मेरो पनि त्यस्तै भयो ।’
‘यामाहा प्रिमियम ब्राण्ड हो’– विक्रम भन्छन्– ‘यो ब्राण्ड अरुभन्दा धेरै अगाडि छ । यस्तो ब्राण्डसँग गाँसिएर काम गर्नुमा चुनौती पनि छ, आनन्द पनि छ र गर्व पनि छ ।’
उनी भन्छन्– ‘अटोमोबाइल सेक्टर निरन्तर फेरिइरहेको छ । अहिले प्रोडक्ट बेच्नु मात्र ठूलो कुरा होइन, ग्राहकलाई आफ्नो प्रोडक्टको उपयोगबाट उत्कृष्ट अनुभव कसरी गराउने भन्ने मुख्य कुरा भएको छ ।’
उनको आठ वर्षभन्दा लामो अटो सेक्टरको अनुभवले भन्छ– ‘ग्राहकलाई उत्कृष्ट अनुभुति दिलाउनमा बिक्री पछिको सेवाको निर्णायक भूमिका हुन्छ । अटोमोवाइलको मेरुदण्ड भनेकै विक्रीपछिको सेवा र स्पेयर पार्टस् हो ।’
उनी एमटी–१५ बाइक देखाउँदै भन्छन्– ‘यो हामीले भर्खरै लञ्च गरेका हौं । यो उत्कृष्ट बाइक हो ।’ उनी चारपाङग्रे चढ्छन् तर एमटी–१५ बाइक आएपछि केही दिन उनले त्यही बाइक चलाए । उत्कृष्ट लाग्यो उनलाई ।
अर्काे बाइक देखाउँदै भन्छन्– ‘यो आरवनभी–३ हो । यो प्रिमियम प्रडक्ट हो । युवा पुस्ताले अत्यन्तै मनपराएको बाइक हो । नेपालमा यो बाइक लञ्च गर्नु हाम्रा लागि गौरवको कुरा हो ।’
सजिलो छैन अटोमोवाइल क्षेत्र, खासगरी टु व्हीलर क्षेत्र चुनौतीपूर्ण छ भन्छन् । के हो अटोमोबाइल क्षेत्रको च्यालेन्ज ? यो प्रश्नको जवाफमा उनी भन्छन्– ‘मानिसहरुको रुची परिवर्तनशील हुन्छ । सबैजना ब्राण्ड कन्सस भइसकेका छन् । मानिसहरु उत्कृष्ट चिज चाहन्छन् र उत्कृष्ट चिज किनेपछि उत्कृष्ट सेवा पनि चाहन्छन् । ग्राहकसँग छनौट धेरै छ । यही कारण चुनौती छ ।’
‘शायद च्यालेन्जिङ काम मन पराउने भएकाले म अटो क्षेत्रमा लागें । यही फिल्डमा रमाएको छु, यहाँ पाइला पाइलामा च्यालेन्ज छ, क्रियटिभ र इनोभेटिभ बन्ने मौका छ’– विक्रम भन्छन् ।


प्रतिकृया दिनुहोस