• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

मनश्री नेवा - विद्य‌ुतीय  फाेहाेर हटाउँदै, पृथ्वीलाई सुन्दर बनाउँदै

लुना थापा

लुना थापा

काठमाडौं । मनश्री नेवा काठमाडौं युनिभर्सिटीमा वातावरण विज्ञानमा स्‍नातक गर्दै थिइन् । उनकाे रुचि जाग्याे विद्य‌ुतीय फाेहाेर व्यवस्थापनमा । उनी आफ्नै घरमा हेर्थिन्– बिग्रेभत्केका विभिन्‍न विद्य‌ुतीय उपकरण यत्रतत्र देख्थिन् ।

नेपालको लगभग हरेक घरमा केही फोहोर यस्ता हुन्छन् जसलाई धेरै मानिस फोहोर मान्दैनन् । त्यस्तो फोहोर हो– बिग्रेभत्केका विद्य‌ुतीय उपकरणहरु ।

विद्य‌ुतीय फाेहाेर विश्‍वव्यापी समस्या बनेकाे र नेपालमा पनि याे समस्या बढ्दै गरेकाे बुझेपछि मनश्रीलाई केही गर्नुपर्छ भन्‍ने लाग्याे । ती फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेमा विशेष ध्यान दिन तथा अध्ययन गर्न थालिन् । केही कुरा सिकिन् पनि । तर, सिकेर तथा जानेर के गर्ने ? समाधानकाे बाटाेमा हिँड्ने उपाय उनीसँग थिएन ।

स्‍नातक पढाई सकियाे ।

सन् २०१८ मा चौधरी फाउण्डेसनले ‘स्मार्ट सिटी च्यालेन्ज’ कार्यक्रम चलायो । मनश्री त्यो कार्यक्रममा सहभागी भइन् । कार्यक्रममा विद्य‌ुतीय फोहोर व्यवस्थापन सम्बन्धमा एक कार्ययोजना प्रस्तुत गरिन् । त्यो प्रस्तुतिले मनश्रीका लागि नयाँ ढोका खोलिदियो । मनश्री लगायतका युवा विद्यार्थीहरुलाई चौधरी फाउण्डेसनले उद्यमशीलता तालीम दियो ।

तालीमपछि मनश्री आवद्ध भइन् ‘ब्लु वेस्ट टु भ्यालु’ संस्थामा ।

एउटा नाैलाे काम

ब्लु वेष्टले नेपालमा फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न उदाहरणीय प्रयास गरिरहेको छ । त्यस्तो संस्थामा आवद्ध भइन् मनश्री । उनी आवद्ध भएपछि ब्लु वेष्टमा एउटा शाखा थपियो– ई वेष्ट म्यानेजम्यान्ट प्रोजेक्ट ।

ब्लु वेष्ट टु भ्यालुले होटल हायात, कीर्तिपुर नगरपालिका, शंखरापुर नगरपालिका लगायतको फोहोर वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने काम गरिरहेको थियो । 

मनश्री भन्छिन्– ‘सामान्यतया विद्य‌ुतीय उपकरण महंगा हुन्छन् । ती सामानसँग मानिसको भावना पनि जोडिएको हुन्छ । त्यसैले बिग्रेभत्के पनि घरको एउटा कुनामा या कतै थन्काएर राख्छन्,
हतपत फाल्दैनन् ।’

विद्य‌ुतीय फोहर थन्किएर बसेको हुन्छ तर त्यस भित्र विभिन्‍न हानीकारक तत्व पनि हुन्छ । अनि, केही मूल्यवान् चिज पनि हुन्छ । विद्य‌ुतीय फोहोरका यस्ता सबै सामग्री केलाउने छुट्याउने काममा
लागिन् मनश्री । 

ललितपुर धापाखेलकी मनश्री २५ वर्षकी भइन् तर जिम्मेवारी भने गहन बोकेकी छिन् । काठमाडाै‌काे दरबार मार्ग स्थित ब्लु वेष्टकाे फाेहाेर संकलन केन्द्रमा मनश्रीसँग विद्य‌ुतीय फोहोर व्यवस्थापनको काम गर्न चारजनाको टिम छ । 

मनश्रीकाे टिमले गरिरहेकाे विद्य‌ुतीय फोहोर व्यवस्थापनको काम नेपालका लागि नौलो हाे ।

सके मर्मत, नसके रिसाइकल

मनश्रीको टिमले बिग्रेभत्केका कम्प्युटर, टेलिभिजन सेट, फोन सेट, वासिङ मेसिन, फ्रिज लगायतका सामान बटुल्छ ।भन्छिन्– ‘हामी सित्तैमा सामान लिन्छौं, शुल्क तिर्दैनौं । किनभने फोहोर फ्याँक्नेले चाहिँ शुल्क तिर्नुपर्ने हो ।’

जसले फोहोर गर्छ, उसले प्रदूषण कर पनि तिर्नुपर्छ भन्‍ने विश्वव्यापी मान्यता हो तर नेपालमा यो मान्यता व्यवहारमा प्रभावकारी ढंगले लागू हुन नसकेकोमा मनश्रीकाे गुनासाे छ ।  

उनको टिमले विद्य‌ुतीय सामग्री बटुलेर ल्याएपछि सबैभन्दा पहिले त्यसको जाँच परख गर्छ । कुनै सामान मर्मत गरेर चलाउन सकिन्छ कि ? पहिलो ध्यान यसैमा हुन्छ । मर्मत सम्भव छ भने मर्मत गरेर पुनप्रयाेग गरिन्छ । 

मनश्री भन्छिन्– ‘कुनै सामान मर्मत सम्भव छ भने त्यसको अधिकतम् सदुपयोग गरिनुपर्छ । अधिकतम् सदुपयोग गर्नु भनेको न्यूनतम् फोहोर उत्पादन गर्नु हो ।’

मर्मत सम्भव नहुने सामान तोडफोड गरिन्छ । उनको टिमले प्लाष्टिक, धातु तथा अन्य किसिमका सामग्रीलाई केलाएर बेग्लाबेग्लै राख्छ । त्यसपछि त्यसलाई रिसाइकल गर्न पठाइन्छ ।

कतिपय सामान यस्ता हुन्छन् जसलाई रिसाइकल गर्न सजिलो छैन । त्यो सामग्री हो शिशा । मनश्रीको टिमका लागि शिशाजन्य सामग्री ठूलो समस्या बनेको छ । खासगरी पूरानो सिआरटी मनिटर । परम्परागत टेलिभिजन सेट तथा कम्प्युटर स्क्रिन सिआरटी मनिटर हो । यस्ता सेटमा सिसा मात्र हुँदैन, भित्रपट्टि लीड लगायतका हानिकारक सामग्री पनि हुन्छ । त्यस्ता वस्तु रिसाइकल गर्ने ठाउँ नेपालमा छैन । 

‘हामीसँग सिआरटी मनिटर, अन्यखाले मनिटर र सिसाजन्य सामग्री धेरै भेला भइसकेको छ, ती सामग्री के गर्ने भनी रिसर्च गर्दैछौं’– मनश्री भन्छिन् ।

हामी कवाडी होइनौं

परम्परागत कवाडीले गर्ने काम र मनश्रीको टिमले गर्ने काममा के फरक छ त ? मनश्री भन्छिन्– ‘कवाडी पेसालाई गलत रुपमा लिन हुँदैन तर परम्परागत कवाडीले गर्ने काम र हाम्रो काम उस्तै खालको देखिए पनि धेरै नै फरक छ । हाम्रो उद्देश्य नै फरक छ ।’

मनश्रीका अनुसार उनको टिमले विद्य‌ुतीय फोहोर व्यवस्थापनको वैज्ञानिक तरिका खाेज्‍ने काम गरिरहेको छ । भन्छिन्– ‘हामी सीमित फोहोर मात्र ल्याउँछौं, हामी फोहोरको वैज्ञानिक व्यवस्थापन कसरी गर्ने भन्‍ने व्यवहारिक उपाय खोज्छौं र भविष्यमा ती उपाय समाजमा फैलाउन चाहन्छौं ।’

ब्लु वेष्ट टु भ्यालुको यो टिमलाई सहयोग गर्ने ठूलो जमात तयार भइसकेको छ । बिग्रभत्केको विद्य‌ुतीय उपकरण लिन आइदिनुस् भनेर कतिपयले सम्पर्क राख्छन् । त्यस्तो बेला मनश्री आफैं पनि स्कुटर लिएर सम्बन्धित ठाउँमा पुग्छिन् र ल्याउँछिन् । विभिन्‍न स्कुल, संघसंस्थाहरुले ब्लु वेष्टलाई विद्य‌ुतीय फाेहाेर उपलब्ध गराइरहेका छन् ।

ब्लु वेष्टले विभिन्‍न विद्य‌ालयमा विद्य‌ुतीय फाेहाेर सम्बन्धमा चेतनामूलक कार्यक्रम पनि चलाउने गरेकाे छ र त्यसमा चेतनाकाे सन्देशवाहकका रुपमा पनि मनश्रीले भूमिका निर्वाह गरिरहेकी छिन् ।

फोहोर भित्र मोहोर

हरेक किसिमका फोहोर पुनप्रयोग गरिनुपर्छ भन्ने अवधारणा विश्‍वव्यापी बनिरहेको छ । विद्य‌ुतीय फोहोरको पनि अधिकतम उपयोग गरिनुपर्छ भन्छिन् मनश्री । उनका अनुसार विश्‍वमा विद्य‌ुतीय फोहोर जति छन्, त्यसको २० प्रतिशत मात्र पुनप्रयोग भइरहेको छ ।

काठमाडौं महानगरपालिकाले डेढ दशक अघि ‘फोहोरलाई बनाऔं मोहोर’ नारा दिएको थियो । तर, नारा अनुसार काम भएन । अहिले मनश्रीजस्ता युवाहरु फोहोरलाई मोहोर बनाउने र समाजलाई बाटो देखाउने प्रयासमा छन् । भन्छिन्– ‘हामीले गरिरहेको कामको मोडल फैलाउन सक्यौं, यो प्रविधि सबैलाई सिकाउन सक्यौं भने यसले फोहोर व्यवस्थापन गर्नेछ, मोहोर सिर्जना गर्नेछ अनि धेरैलाई रोजगार पनि दिनेछ ।’

आशावादी हुँदै उनी भन्छिन्– ‘प्रभावकारी ढंगले विद्युतीय फोहोर व्यवस्थापन गर्न सकियो भने विरामी हुँदै गएकी पृथ्वीलाई निको पार्न योगदान पुग्‍नेछ ।’

मनश्री थप्छिन्– ‘ब्लु वेष्ट भ्यालु टिमले पृथ्वीलाई सुन्दर बनाउन एउटा सानो प्रयास गरिरहेको छ । यो कामको म एउटा टिम मेम्बर बन्‍न पाएकाेमा गर्व गर्छु।’

प्रतिकृया दिनुहोस