उखु किसान महताेको दुखेसो – ‘मेराे त उठीबास लाग्ने भो’
काठमाडौं । सर्लाहीका एक हुल उखु किसान अहिले माइतीघरमा दैनिक धर्ना दिइरहेका छन् । सुगर मिलले उखु किनेको पैसा नदिएपछि उनीहरु पैसा दिलाइदिन माग गर्दै धर्नामा बसेका हुन् । तीन वर्ष देखिको पैसा सुगर मिलले नदिएपछि उनीहरु सर्लाहीबाट काठमाडौं आएका हुन् ।
यसरी आउने समूहमा छन् उखु किसान रौदी महतो ।
६५ वर्षिय रौदीको घरमा १२ जनाको परिवार छ । तर कमाउने उनी मात्रै । उनले प्रतिकठ्ठा दुई हजारका दरले तीन बिगाहा जमिन भाडामा लिइ उखु खेती गरेका थिए ।
आफ्नो ठूलो परिवारलाई उखु खेतीको कमाइले पाल्दै आएका उनले ०७३ साल देखि नै उखु बेचेको पैसा पाएका छैनन् । उनीसँग उधारोमा उखु किन्ने सुगर मिलका साहु अहिले फरार छन् ।
आँखाभरी आँसु पार्दै उनले भने – ‘मेरो तीन वर्षको चार लाख रुपैंया सुगर मिलले दिएको छैन । म ऋणमा डुबेको छु ।’
आम्दानीको एकमात्र स्रोत उखु बेच्दा पैसा नपाएका उनलाई घर खर्च चलाउन नै समस्या छ । उनको समस्या र ऋण दुबै बढ्दो छ , घरबास नै उठ्ने अवस्था आइसक्यो ।
साहुसँगको ऋण तीन लाख पुगिसक्यो उनको । घर नै बन्धकमा राखेर ऋण लिएका उनलाई सय कडा ३६ प्रतिशतको ब्याजको चोट छ । उखुको पूरै पैसा पाएपनि उनी घर फर्किने रित्तो हात नै हो । साहुको ऋणको साँवा र ब्याज तिर्दा चार लाख सकिन्छ । भन्छन् – ‘कमसेकम ऋणबाट मुक्त हुन त पाउँछु ।’
घरबाट ऋण काढेर पाँच हजार लिएर काठमाडौं आएका उनी पैसा सकिएकाले सडकमै बस्न बाध्य छन् । काठमाडौंमा यतिबेला जाडो उत्कर्षमा छ । एकसरो लुगामा काठमाडौं पसेका उनी अहिले बिरामी पनि परेका छन् ।
उनी मात्र होइन, उनको समूहमा १ सय ५० जना छन् । सबैको पीडा उस्तै छ ।
उखु किसानको समस्या अहिले प्रतिनिधि सभा तथा संसदीय समितिमा पुगिसक्यो । ठूला ठूला भाषण हुन्छन् त्यहाँ उखु किसानको नाममा । गृह मन्त्रालयले पैसा नतिर्ने मिल संचालकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन पनि दिइसकेको छ । तर, उनीहरुको पीडा कम हुन सकेको छैन ।
तीन पुस्ता अघि देखि उखु खेतीमा लागेका उनी अब भने यो काम छोड्ने मनस्थितिमा पुगेका छन् । उनी भन्छन्– ‘ऋण गरेरै उखु बाली लगाउने गरेको थिएँ । बेलामा पैसा नपाउँदा सधैं समस्या हुन्छ । अब यो पेशा छोड्छु ।’
उखुलाई मिलसम्म पुर्याउँदा उनको ऋण अझै बढ्छ । ऋणको ब्याज बढ्छ तर ढिलो पैसा दिने साहुले ब्याज दिने त परै जाओस् पैसा नै खाएर भागेको छ ।
सरकारले तोकेको रकम पनि मिल संचालकले बिलमा राखेको छैन, उनले बिल देखाउँदै भने– ‘सरकारले उखुको भाउ प्रति क्वीन्टल ५ सय ३५ रुपैयाँ तोकेको छ तर मिल संचालकले ४ सय ३५ रुपैयाँको बिल काटेर दिएको छ ।’
यस्तै सरकारले उखु किसानलाई दिने अनुदान अहिलेसम्म एक रुपैयाँ पनि नपाएको उनले बताए । आफ्नो समस्या सुनाउँदै उनी भन्छन् – ‘सरकारले अनुदान सोझै किसानको हातमा दिनुपर्छ । किसानको उठीबास लगाउने उद्योगीको हातमा अनुदाम रकम पर्दा किसानले के पाउँथे ?’
काठमाडौं आउँदा भने उनले दुई तीन दिनसम्ममा पैसा पाउने आश गरेका थिए । तर १५ दिनसम्म पनि पैसा पाउने अत्तोपत्तो नभएपछि उनी चिन्तित छन् । मिलले आफूलाई साह्रै दुख दिएका बताउँदै उनी भन्छन् – ‘पैसा नपाएसम्म घर फर्किन्न । ’
यसअघि सर्लाहीमा पनि पटक–पटक किसानको सम्पूर्ण भुक्तानी दिने सहमति भएको सम्झँदै उनी हातमा पैसा नपरुन्जेल कुनै पनि सहमति नगर्ने अडानमा छन् ।
आफ्नो उठीबास हुने चिन्ताले अत्तालिएका उनी भन्छन् – ‘अब पनि पैसा नपाए अनसनमा बस्छौं । ’
.jpg)


प्रतिकृया दिनुहोस