• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

मिटरब्याजपीडितकाे पिडा: ‘सरकारले न्यायको आशामात्रै दियो, घर जाने पैसा छैन’ (भिडियाे)

समाचार

समाचार

काठमाडौं । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौं आइपुग्नुभएकाे थियाे । १८ जना मिटरब्याजपीडित गरिब किसानहरू उहाँका साथमा खडा थिए । त्यसयता उहाँ कहिले माइतीघरको चिसो भुइँमा धर्ना बसेर त कहिले हजारौँ किलोमिटरसम्म पैदलै हिँडेर न्यायको संघर्ष गरिरहनुभएकाे छ ।

यसबीचमा सरकारले पटक–पटक उहाँहरूसँग सहमति गरेको छ, आयोग र छानविन समिति बनाएर काम गरेको छ । तर समस्या भने ज्यूँका त्यूँ छन् । ‘नयाँ गृहमन्त्री यही आएर आश्वासन त दिनुभयो, तर तीन वर्षदेखि न्यायका लागि भौतारिएको सम्झिँदा यसपटक पनि के होला भनेर मनमा डर छ,’ मुसहरले भन्नुभयाे, ‘४२ दिनदेखि यत्रो संघर्ष गर्दा पनि सरकारले न्यायको आशामात्रै दियो, अब हामीसँग त न यहाँ बस्दा खानेकुरा छ, न फर्किने पैसा ।’

भिडियाे:

उहाँले छोरीको विहेका लागि साहुसँग गाउँकै साहुसँग साढे चार लाख रुपैयाँ ऋण लिनुभएकाे थियाे । ऋण लिनेबेला साहुले धितो अनिवार्य भन्दै उनको साढे १० कठ्ठा जग्गा आफ्नी श्रीमतीको नाममा पास गर्न लगाए । पैसाले समस्या परेका बेला रामशुभगले पनि जग्गा दिएरै ऋण लिनुभयाे । साधारण लेखपढमात्रै जान्ने उनले १५ महिनापछि साहुको ऋण ब्याजसहित ९ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसक्नुभएकाे छ ।

‘साढे चार लाख ऋण लिएको, एक वर्ष तीन महिनामा मैले ९ लाख ४० हजार रुपैयाँ तिरेँ,’ उहाँले भन्नुभयाे- ‘पैसा बुझ्दा साहुले दुई दिनमा जग्गा फिर्ता गरिदिन्छु भनेका थिए । तर वर्षौ बित्दा पनि जग्गा नदिएपछि म न्याय खोज्दै भौतारिनुपर्ने अवस्थामा पुगेँ ।’

जग्गा फिर्ता गराइदिन बेलिविस्तार लगाउँदै उहाँ मानव अधिकार आयोग पुगे, स्थानीय सरकारसमक्ष धाए, प्रदेश सरकारसमक्ष पनि पुग्नुभयाे । तर कतैबाट न्याय नपाएपछि उहाँले सडक संघर्ष रोज्नुभयाे । ‘उमेरले आराम गर्ने बेला भएको छ । तर जीवनभरको जायजेथो साहुले हडपिदिएपछि बाध्य भएर यो कष्ट बेहोर्दै छु,’ उहाँले भन्नुभयाे ।

सरकारले पटक–पटक सहमति गरेर आन्दोलन टुंग्याएपनि व्यवहारिकरुपमा भने पीडितहरूको पीडालाई कसैले नबुझेको उहाँको गुनासो छ । ‘तीन वर्षदेखि हामी यसैगरी संघर्ष गरिरहेका छौँ,’ उहाँले भन्नुभयाे, ‘विगतमा पनि गृहमन्त्रीहरूले प्रतिबद्धता जनाए, तर कार्यान्वयन भएन । अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ, उहाँले समाधान गर्छु भन्नुभएको छ । हामीलाई आशा जागेको छ, तर भर पर्ने अवस्था छैन । किनभने यसैगरी हामीले आन्दोलन थालेको साढे तीन वर्ष भइसकेको छ ।’

रामशुभगजस्तै पटक–पटक आन्दोलनमै रहनुभएकाे प्रतापपुर गाउँपालिका–४ की तिलसरादेवी राजभर । उहाँले विदेश जाने बेला गाउँकै साहु जगदिश बानियाँबाट एक लाख रुपैयाँ लिनुभएकाे थियाे । साउदी पुगेर मजदुरी गरेकी उनले आठ महिनामै साहुको एक लाख रुपैयाँ फिर्ता गर्नुभयाे । तर त्यसपछि पनि साहुले छोडेनन् । ‘मैले १२ वर्षसम्म मजदुरी गरेको पैसा साहुले खाइदिए । एक लाख रुपैयाँ ऋण लिएको १० लाख रुपैयाँ लिएर फिर्ता गरेनन्,’ उहाँले भन्नुभयाे । साहुले हडेपेको त्यही पैसा फिर्ता पाउनुपर्ने भन्दै उनी तेश्रोपटक काठमाडौं आइपुगेकी हुन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा यसपटक भएको आन्दोलनमा पूर्वदेशि पश्चिमसम्मका करिब ४ हजार मजदुर किसान सहभागी भए । अहिले पनि सयौँको संख्यामा पीडितहरू काठमाडौंंमै छन् ।

संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले ४२ औँ दिनमा सरकारसँग चार बुँदे सहमति भएपनि कार्यान्वयन हुने वा नहुने भय कायम रहेको बताउनुभयाे । ‘सरकारसँग सहमति भएको छ । तर हामीले पूर्ण विश्वास गर्ने अवस्था छैन । हामी शंका र आलोचनाको दृष्टिले पनि हेरिरहेका छौँ,’ उहाँले भन्नुभयाे, ‘त्यसकारण सहमति कार्यान्वयन नभएसम्म घर फर्किने वा यही बसेर दबाब दिइरहने भन्ने टुंगोमा पुगिसकेका छैनौँ ।’

उहाँले आफूहरूसँग घर फर्किनका लागि पैसा समेत नभएको र त्यसबारे समेत सरकारसँग कुरा भइरहेको बताउनुभयाे ।

 

 

प्रतिकृया दिनुहोस