• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

सौर्य ऊर्जा उत्पादनमा देखिएको प्रतिस्पर्धा र प्रतिद्वन्दिताबाट नेपालले फाइदा लिनुपर्छ : रघुजी पन्त 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रतिनिधि सभा सदस्य रघुजी पन्तले अन्तराष्ट्रिय सौर्य ऊर्जा गठबन्धनबाट नेपालले लाभ उठाउनु पर्ने बताउनुभएको छ । 

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै पन्तले सौर्य ऊर्जाको क्षेत्रमा चीनले गरेको प्रगतिबाट विश्व समुदायले पाठ सिकिरहेको बताउँदै नेपालले पनि त्यसबाट पाठ सिक्नु पर्ने बताउनुभयो । भारतले आफ्नो नेतृत्वमा सौर्य ऊर्जा गठबन्धन लगायतका केही गठबन्धन बनाएको र नेपाल पनि त्यसमा सम्मिलित रहेको उहाँले स्मरण गराउनुभयो । 

विश्वव्यापी रूपमा सौर्य ऊर्जा उत्पादनमा देखिएको प्रतिस्पर्धा र प्रतिद्वन्दिताबाट नेपालले फाइदा लिनु पर्ने उहाँले बताउनुभयो । नेपालमा पनि सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको सम्भावना राम्रो भएको उहाँले टिप्पणी गर्नुभयो । ‘विश्वव्यापी रूपमा यसमा देखा परेको प्रतिद्वन्दिता र बजारको प्रतिस्पर्धा छ, त्यसबाट नेपालले फाइदा लिनुपर्छ’, उहाँले भन्नुभयो । 

कुनै पनि सन्धि, सम्झौता नेपालको लागि आवश्यक छ कि छैन भन्ने कुराको विश्लेषण गरेर नेपालले हस्ताक्षर गर्नुपर्ने उहाँले बताउनुभयो । सौर्य ऊर्जाको अन्तराष्ट्रिय गठबन्धनमा हस्ताक्षर गर्न पनि नेपालले हतार गरेको उहाँको धारणा छ । 

नेपाल भारतसँगको गठबन्धनमा भए पनि चीनले सौर्य ऊर्जाको क्षेत्रमा गरेको प्रगतिबाट फाइदा लिने कुरामा नेपाल चुक्नु नहुने उहाँले बताउनुभयो । यस्ता सम्भावनालाई प्रयोग गर्ने ढोका नेपालले खोल्नु पर्ने उहाँको जोड छ । 

 

प्रतिकृया दिनुहोस