• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

‘तान बुन्ने सीपले उद्यमी बनायो निरुलाई’

रासस

रासस

झापा ।  दमक–१ की ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग बढ्दै गएपछि बजार धान्न मुस्किल भएको छ । 

२० बर्ष अघि उनले ढाकाको तान बुन्ने सीप सिकेकि थिइन् । छोराछोरीलाई स्कुल पढाएर घरको काम धन्दा सकेपछि फुर्सद निकालेर उनले सीप सिकेकि हुन् । अहिले सयौंलाई रोजगारी दिने उद्यामीको पहिचान बनाउन सफल भएकी छिन् ।

‘हिजो फुर्सदको समयमा सुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम बनेको छ’ –पुलामीले भनिन् । दमक–१ मा उनले सञ्चालन गरेको प्रवीण ढाका उद्योगमा ७० भन्दा बढी कपडा बुन्ने हाते मेसिन (तान) छन् । वार्षिक मुनाफा २० लाखभन्दा बढी छ । 

दमक नगरपालिकाका महिला सदस्यले हरियो रङको ढाकाको साडीलाई औपचारिक पोशाक बनाएका छन् । एकै रङको पहिरन लगाएर नगरपालिकाको कार्यक्रम र बैठकमा पुग्दा महिला जनप्रतिनिधिलाई असाध्यै सुहाएको छ ।

यी सबै पोशाक पुलामीको ढाका उद्योगका उत्पादन हुन् । ‘नयाँ नयाँ ठाउँबाट कपडाको माग आइरहेको छ’ –उनले भनिन् ‘माग अनुसारको कपडा पुर्‍याउन सकेको छैन ।’ बुद्धशान्ति र कमल गाउँपालिका, मेचीनगर र कनकाई नगरपालिकाका महिलाले विवाह, व्रतबन्ध लगायत कार्यक्रममा जाँदा ढाकाकै कपडा प्रयोग गर्न थालेका छन् । 

स्थानीय तहका जनप्रतिनिधि, सहकारी संस्थाका महिला सदस्य, बचत समूहका महिलाले संस्थागत पहिचानका लागि एउटै रङको पहिरन लगाउने प्रचलन बढ्दै गएको छ । पुरुषहरुले लगाउने दौरा, सुरुवाल र टोपी ढाकाकै मन पराइने हुँदा बजार व्यापक बन्दै गएको उनको भनाई छ । 

धेरैजसोले मौलिक पहिरनका रूपमा ढाकाका कपडा नै रोज्न थालेपछि माग बढेको हो । 

पुलामीको उद्योगमा आबद्ध हुने श्रीमान वैदेशिक रोजगारमा गएका महिला, पहाड तथा तराईका ग्रामीण क्षेत्रबाट दमकमा कलेज पढ्न आएका विद्यार्थी छन् । त्यस्तै,  सामान्य गृहिणीहरुले घरमै तान लगेर ढाकाका सामग्री बुन्ने गरेका छन् ।  ‘ढाका महङ्गो भए पनि नेपाली पहिचान झल्कने र लगाउँदा राम्रो र न्यानो भएकाले यसको माग बढेको हो’–उनले भनिन् ‘सुरुमा बजारको समस्या थियो, अहिले ग्राहकको माग धान्न हम्मे परेको छ ।’

उनले बनाएका ढाकाको सामग्रीको माग नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायतका शहरमा अत्याधिक छ । 

किराँत समुदायका पुरुषहरुले लगाउने म्याक्ली (कोट)का लागि पछिल्लो समय ढाका कपडा अत्यधिक प्रयोग हुन थालेको छ । झापाको दमकलाई ढाका कपडाका लागि पूर्वको राजधानी मानिन्छ । यहाँ साना–ठूला गरी एक दर्जन ढाका उद्योग सञ्चालनमा छन् । 

नेपाल उद्यमशील महिला सङ्घ झापाका अध्यक्ष पार्वता विमलीले महिलाले उत्पादन गरेको व्यवसायको प्रवद्र्धनमा सङ्घले सहयोग गर्दै आएको बताइन् । उनले सङ्घले गर्ने हरेक कार्यक्रममा स्थानीय महिलाले उत्पादन गरेका माला, खादादेखि अतिथिलाई दिने मायाको चिनो प्रयोग गर्दै आएको बताइन् । 

दमक नगरपालिकाका उपाध्यक्ष गीता अधिकारीले ढाका व्यवसायीलाई प्रोत्साहन गर्न आफूहरुले संस्थागत पहिरनका रुपमा ढाकाको साडी प्रयोग गरेको बताइन् ।  ‘ढाका नेपालीको मौलिक पहिचान हो’ –उनले भनिन् ‘यसको संवद्र्धन र प्रवद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो भनेर हामी लागेका छौं।’

अधिकारीका अनुसार दमकमा ढाका उद्योगबाट पाँच सय भन्दा बढीले रोजगारी पाएका छन् । 

पुलामीकै प्रेरणाबाट स्वरोजगार बन्न सफल भएकी अर्कि महिला हुन् अर्जुनधारा नगरपालिकाकी सरु बुढाथोकी । उनले कागजका माला, ब्याज बनाएर स्थानीय क्षेत्रमा फरक पहिचान बनाउन सफल भएकी छिन् । उनले बनाउने कागजको माला, खादा, मोती र क्रिस्टलका मालाको माग झापा, मोरङ, पोखरा, इलामसम्म हुने गरेको छ । 

काठमाडौंमा कागजको झोला बनाउँदा रहेका टुक्रा प्रतिकेजी तीन सयमा खरीद गरेर ल्याई माला बनाएको उनले बताइन् । ‘माला बनाउन झन्झटिलो हुन्छ’ –बुढाथोकीले भनिन् ‘कच्चा पदार्थ आफैँ दिएर एउटा माला बनाएको ज्याला ४० रुपैयाँ दिने गरेका छौं।’

माला भने प्रतिगोटा ५० रुपैयाँका दरले बिक्री हँदै आएको उनले बताइन् । 

प्रतिकृया दिनुहोस