• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

५७ वर्षमा पूरा भयो पुण्यबहादुरको सपना

टेकेन्द्र बुढाथाेकी

टेकेन्द्र बुढाथाेकी

धरान । ६५ वर्ष भए धरानका पुण्यबहादुर राई । उनकै उमेरका कतिपय अहिले सन्तानको स्याहार लिँदै बसेका छन् । तर पुण्यबहादुर अझै जवान झैं फूर्तिला छन्, मेहेनती छन् ।

कडा छ उनको दैनिकी । बिहान ५ बजे देखि काम सुरु गर्छन् । अहिलेको उमेरमा पनि यस्तो जोश आउनुको मूलकारण हो, कृषि पेशा प्रति उनको रुची । 

सानै देखि कृषिमै लाग्‍ने सोच थियो पुण्यबहादुरको । तर सम्भव भएन त्यतिबेला । ०११ सालमा सोलुखुम्बुमा जन्मेका राईले सानै उमेरमा भारतमा गइ गोठालो जीवन बिताए । केहीसमय बिताएको गोठालो जीवन परिवर्तन भयो । त्यसपछि ब्रिटिश आर्मी बने । 

०६५ सालमा नेपाल फर्के उनी । यो फर्काइसँगै उनले आफ्नो कृषि सपना पनि ब्युँताए । अनी सुरु गरे बंगुर पालन । बाल्यकालमा देखेको सपना उनले ५७ वर्षको उमेरमा पूरा गरे । उनले बाायङ्ग बंगुर पालन तथा कृषि फर्म काे स्थापना गरेर कृषि सुरु गरे । पुण्यबहादुरको कृषि फार्ममा अहिले ४ सय भन्दा बढी बंगुर छन् । 

उनले तरकारी र फलफुल खेती पनि गरेका छन् । ‘सानै देखि कृषि पेशा गर्ने रहर थियो, बुढेसकालमा पूरा भयो’ – फिस्स हाँस्दै पुण्यबहादुरले भने । 

फार्ममा काम गर्दा आफूलाई कहिल्यै थकाइ नलाग्‍ने पनि बताउन भ्याए उनले । 

लाहुर यात्रा

१६ वर्षको उमेरमा उनी पढाइ छोडेर मुग्लान पसे । एसएलसीसम्म पढ्न पाए आफ्नो  खुट्टामा उभिन सक्ने विश्वास राखेका राईलाई साथ दिने कोही भएनन् । ‘पढ्न नपाएर नै भारत पसेको हूँ ’ – राई ती पुराना दिन सम्झन्छन् ।  

भारतमा उनले गोठालोको काम गरे । आठ महिनासम्म गोठालो बनेर फर्केका उनी साथीभाईका लहैलहैमा लाहुरे बने । 

फेरि पनि विदेश

लाहुरे जीवन सकेर ०४८ सालमा उनी नेपाल फर्किए । त्यो बेला राईसँग ४ लाख २२ हजार साथमा थियो ।

कृषि फार्म खोल्ने इच्छा भएपनि तत्कालको आवश्यकताले उनलाई घर बनाउन बाध्य बनायो । घर बनाउँदा उनको सबै पैसा सकियो । भएको पैसाले नपुगेरे ३० हजार ऋण पनि थपियो । 

परिवारको जिम्मेवारी पनि भएकाले उनले फेरि विदेश नै जानुपर्ने अवस्था आयो । सेक्यरिटीको कामका लागि ब्रुनाइ गए । उनले १२ वर्षसम्म त्यहाँ काम गरे । फेरि अफ्रिका गए । सेक्युरिटी तालिम दिने काम गरे । त्यहाँ पनि दुई वर्ष काम गरे । 

त्यसपछि भने उनी नेपाल नै फर्कने निधो गरे । फर्किंदा आफ्नो बाल्यकालिन सपना साथमै ल्याए । ०६५ को फागुनमा उनी नेपाल आए, आफ्नै माटोमा पसिना बगाउने गरी ।  

कृषिको थालनी

कृषिलाई पेशाको रुपमा सुरु गर्नु अघि उनले तालिम लिए । ०६६ सालमा उनले ठूलो बंगुर फार्म खोले । एकैपटक ४२ वथा पोथी र एउटा बीर (भाले बंगुर) सहित उनको फार्म सुरु भयो । 

सुरुमै ठूलो आकारमा फार्म खोलेका उनलाई आफ्नो व्यापारले धेरै माथि पुर्‍याउँछ भन्‍ने भइसकेको थियो । ‘राती एक बजेसम्म काम गर्दा पनि थकाइ लाग्दैनथ्यो’ – उनी भन्छन् । 

तर, राम्रो तयारीका साथ फार्म खोलेपनि नतिजा आउने बेला उनी निराश बन्‍न पुगे । ती ४२ वटा पोथीले पाएका सबै पाठा प्यारालाइसिस भएर मरे । 

जीवनको उत्तरार्द्धमा सुरु भएको पेशा माथि नउकासिने निष्कर्षमा पुगे उनी । उनले अर्को बेतसम्म कुर्न सकेनन् । ४१ वटा माउ नै बेचिदिए । तर अन्तिम एउटा माउ भने गर्भिणी भएकाले उनले बेच्‍न सकेनन् । 

आफूले रहर गरेर पालेको गर्भिणी बंगुरको उनले राम्रो स्याहार गरे । सो पोथीले एकैपटक ६ वटा पाठी र १० वटा पाठो पाइ । अन्तिम पोथीबाट जन्मेको पाठापाठी हुर्काउँदै गए राईले । तीनै पाठापाठी सन्तान बढ्दै गइ ०७० सालमा १८ वटा पुगे ।

उनले फेरि ठूलो आकारमा फार्म सञ्चालन गर्ने निर्णय गरे । अनी उन्‍नत जातका बीरहरु ल्याए । १४ वटा खोर बनाए । बिस्तारै पोथी बंगुर थपिने क्रम जारी नै रह्यो । 

अहिले उनको फार्ममा १ सय ८ वटा विभिन्‍न जातका माउ बंगुर छन् । जसले उत्पादन गरेका ३ सय ५० भन्दा बढि पाठापाठी छन् । एउटा बंगुरले १५ देखि २३ वटासम्म पाठा उत्पादन गर्ने राई बताउँछन् । 

निराशाबाट फेरि आशा पलाएको उनको फार्मले अहिले ठूलो आकार लिइसकेको छ । चार जनाले सो फार्ममा रोजगारी पनि पाएका छन् । 

उनको फार्मले नियमित पाठा बेच्‍न थालेको छ । ग्राहकहरु पाठा लिन फार्ममै आउँछन् । 

बंगुरपालन फष्टाएपछि उनले गाई पालनका साथै फलफुल र तरकारी खेति पनि सुरु गरे । अहिले उनको तीन सय आँप र तीन सय लिचीका बोट छन् । पाँच बिगा जमिनमा उनको फार्म र खेती छ । 

सफलता दाहिना भएका पुण्यबहादुरले अहिले प्रदेश सरकारबाट उत्कृष्ट कृषकको अवार्ड समेत पाइसकेका छन् । 

फार्मको आकार अझै बढाउने सुरुमा छन् उनी । आकार बढेसँगै बंगुरका पाठा मात्र होइन स्वस्थ मासु पनि बेच्‍ने उनको तयारी छ । 
 

प्रतिकृया दिनुहोस