• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

एआई सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाैंमा सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्‍घाटन गर्ने

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि काठमाडाैंमा सुरु हुँदैछ ।

नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नेपालमै पहिलो पटक याे सम्मेलन आयाेजना गर्न लागेकाे हाे । कालिमाटीस्थित हायात प्यालेसमा सुरु हुने एआई सम्मेलनकाे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

 

एआई सम्मेलनमा सहभागी हुन विदेशी विज्ञहरु काठमाडाैं आइसकेका युवा संघले जनाएकाे छ । विश्व बजारमा अहिले भइरहेको आर्टिफिसियल इन्टेलिजेन्सकाे विकास र उपयोगबारे नेपाली समाजमा जानकारी दिने उद्देश्यसाथ सम्मेलन आयाेजना गर्न लागिएकाे हाे । सम्मेलनबाट राष्ट्रिय एआई रणनीति विकास, नैतिक एआई प्रयोगको प्रवर्द्धन, एआई अनुसन्धान तथा विकासमा सार्वजनिक-निजी साझेदारीको प्रवर्द्धन, एआई शिक्षा र कार्यबल विकासलाई सुद‍ृढ बनाउने र समावेशी एआई नीति सुनिश्चित गर्ने उद्देश्य राखिएकाे छ ।

सम्मेलनमा फिनल्याण्ड, सिंगापुर, जापान, पाेर्चुगल, अष्ट्रेलिया, थाइल्याण्ड, दक्षिण काेरिया, मलेसिया लगायत विभिन्न देशबाट एआई विज्ञसहित उच्चस्तरीय विज्ञ सहभागी हुनेछन् ।

सम्मेलनमा भाैतिक रुपमा १ हजार जना प्रतिनिधि सहभागी हुनेछन् । विश्वभरिबाट भर्चुअल रूपमा १ करोड भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउनेछन् । सम्मेलनमा १० वटा थिमेटिक बेसमा छलफल हुनेछ भने १०१ जना विज्ञ प्यानलिट सहभागी हुनेछन् ।

सम्मेलन भाेलिसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस