• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

चिनियाँलाई महंगोमा मास्क बेचेर ठग्दैछन् नेपाली व्यवसायी

अस्मिता क्षेत्री

अस्मिता क्षेत्री

काठमाडौं । पाथीभारा नाम राखेर चलाइएको त्रिपुरेश्वर स्थित अलमेड सर्जिकल सप्लायर्समा सनराइज खबरको टिमले चारवटा मास्क किन्यो । प्रतिगोटा मूल्य पर्‍यो एकसय ८० रुपैयाँ । शनिबार बिहान मास्क बेच्दा पसल सञ्चालक प्रकाश घिमिरेले भन्दै थिए– ‘अरु सबै पसलले मास्क बेच्दा दोब्बर तेब्बर भाउ लिइरहेका छन्, म चाहिँ ठग्दिन ।’

उनले जुन मास्क बेचेका थिए, त्यो मास्क क्षेत्रपाटीको पसलमा एकसय १० रुपैयाँमा पाइयो । अरुबेला सो मास्क ८० रुपैयाँमै पाइने रहेछ । अर्थात्, ठग्दिन भन्दै प्रकाश घिमिरेले मज्जासँग ठगे ।

कोरोना भाइरसको त्राश फैलिएपछि नेपालमा पनि मास्कको माग बढ्दो छ । विक्रेताले सर्वसाधारण नेपाली ग्राहकलाई चर्काे मूल्य लिइरहेका छन् । नेपालीभन्दा धेरै ठगिएका छन् चिनियाँहरु । 

अहिले काठमाडौंका मास्क विक्रेता तथा सप्लायर्सहरुका लागि चिनियाँ ग्राहक दुहुना गाई बनेका छन् । सनराइज खबरको टोली आइतबार पनि मास्कको बजार हेर्न गएको थियो । त्रिपुरेश्वरको अलमेड सर्जिकलले अरुबेलाभन्दा पाँच गुणा महंगो मूल्य भनेपछि चिनियाँ नागरिक लिउ ले आक्रोशित हुँदै सनराइज खबरलाई भिडियो अन्र्तवार्तामा भनिन्– ‘हामी चिनियाँलाई पसलेहरुले ठगिरहेका छन् । मास्कको मूल्य पहिलेको भन्दा चारपाँच दोब्बर भनिरहेका छन् ।’

अलमेड सर्जिकल सप्लायर्स त एउटा उदाहरण मात्र हो । काठमाडौंमा सर्जिकल सामानको बजार भनेर कहलिएको त्रिपुरेश्वर र क्षेत्रपाटी क्षेत्रमा मास्क किन्नेहरुको भिड छ । मूल्य चाहिँ अरुबेलाभन्दा तीन दोब्बरसम्म छ । तर, चिनियाँका लागि पाँच दोब्बर छ ।

मास्कको व्यापार अहिले अनौठो छ । एकदुईवटा किन्नेलाई सस्तोमा बेचिन्छ, धेरै चाहिनेलाई अत्यन्तै महंगोमा बेचिन्छ । किनभने धेरै मास्क किन्नेले चीन पठाउँछन् र धेरै कमाउँछन् । त्यसैले उनीहरुलाई महंगोमा बेचिन्छ । यतिखेर चीन संकटमा छ, त्यहाँ मास्कको ठूलो अभाव छ । त्यसैले महंगो तिरेर भए पनि मास्क किन्नुपर्ने वाध्यतामा चिनियाँहरु छन् । चिनियाँहरुको यो वाध्यताको फाइदा उठाइरहेछन् नेपाली व्यवसायीहरु । 

चिनियाँहरुले काठमाडौंको बजारबाट मास्क सिनिक्कै पारेर उठाउन थालेपछि स्वास्थ्य मन्त्रालय चिन्तित बन्यो । औषधी व्यवस्था विभागले निर्देशन जारी गरेर ठूलो परिमाणमा मास्क नबेच्न र निर्यात नगर्न भनेको छ । काठमाडौंमा रहेका चिनियाँहरुले ठूलो परिमाणमा मास्क किनेर स्वदेश पठाउन थालेपछि नेपालमा अभावको अवस्था आउने देखियो । त्यसपछि विभागले परिपत्र जारी गरेको हो । 
अल मेड सर्जिकलका प्रकाशले सनराइज खबरलाई बताए अनुसार केही दिनदेखि त्रिपुरेश्वरमा मास्क किन्न चिनियाँहरुको घुईंचो नै लागेको थियो । हरेक पसलमा पुगेर चिनियाँहरुले ठूलो परिमाणमा मास्क किनेका थिए । 

त्रिपुरेश्वर मात्र नभई क्षेत्रपाटीको सर्जिकल एरियामा समेत मास्क किन्नेहरुको घुईंचो छ । फुटपाटमै बसेर व्यापारीहरु मास्क विक्री गरिरहेका छन् । क्षेत्रपाटी क्षेत्रका व्यवसायीहरुको पनि चासो र रुची चिनियाँहरुलाई बेच्ने नै देखिएको छ । चिनियाँहरु भनेजति मूल्य तिरेर स्वदेश पठाउन वाध्य छन् ।

चिनियाँहरुलाई नबेच्नु भन्ने आशयको निर्देशन जारी भएपछि व्यापारीहरु झन मालामाल भएका छन् । आफूहरुलाई पसलले मास्क बेच्न नमान्ने, बेच्न माने पनि अत्यन्त महंगो मूल्य भन्ने गरेको बुझेपछि कतिपय चिनियाँले नेपालीलाई प्रयोग गरेर मास्क किन्न पठाउने गरेका छन् । यसो गर्दा मास्क किन्न प्रयोग हुनेले पनि नाफा खाने, पसलेले पनि नाफा खाने भएपछि चिनियाँहरु झन् मारमा परेका छन् । 

मास्कको व्यापारमा भइरहेको ठगीलाई हेर्नुपर्ने औषधी व्यवस्था विभागले हो । आइतबार औषधी व्यवस्था विभाग पुगेर महानिर्देशक नारायणप्रसाद ढकाललाई सनराइज खबरको टोलीले भेट्यो । उनले भने– ‘मैले त पत्र जारी गरिदिनुपर्यो भनेपछि जारी गरिदिएँ, अरु मलाई केही थाहा छैन ।’

उनले क्यामरामा कुरा गर्न भने मानेनन् । 

नारायणप्रसाद ढकालले जारी गरेको पत्र हेर्नुहोस् ;

महानिर्देशक ढकालले जारी गरेको पत्रमा व्यवसायीहरुलाई आफूसँग भएको मास्क, ह्याण्ड स्यानेटाइजर र ग्लोभ्सको परिमाण पठाउन भनिएको छ । ‘आइतबार अपरान्हसम्ममा विभिन्न विवरण आइसकेपछि मात्र म बोल्छु’– महानिर्देशक ढकालले भने ।

मास्क खरीदमा नेपाली तथा चिनियाँ उपभोक्ता चरम ठगीमा पर्दा पनि विभागले कुनै कदम चालेको छैन । यद्यपि, विभागले आइतबार बजार अनुगमन गर्न आउँछौं भनी शुक्रबार नै खबर गरेको व्यवसायीहरुले सनराइज खबरलाई बताए । तर, विभागले बजार अनुमगन भने गरेन । गरेको भए क्षेत्रपाटीमा फुटपाथमै मास्क राखेर व्यवसायीहरुले मंहगोमा बेच्न सक्दैनथे ।

 

प्रतिकृया दिनुहोस