एआईसम्बन्धी राष्ट्रिय नीति बनाउँदैछौं, नेपाललाई एआई एजुकेशन हब बनाउँछाैं : प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाइने बताउनुभएकाे छ ।
काठमाडौंमा आइतबारदेखि सुरु भएको एआईसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बाेल्दै प्रधानमन्त्री ओलीले एआई सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारीमा सरकार लागेकाे बताउनुभयाे ।
एआईकाे प्रयाेग सकारात्मक कामका लागि, विकासका लागि र मानिसकाे सुविधाका लागि प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे - 'हामी एआईकाे रणनीतिक याेजना लगायत विषय तयार गर्ने, नेपालकाे लागि एआई के हाे र कसरी प्रयाेग गर्छाैं भन्ने राष्ट्रिय नीति र रणनीति निर्माणकाे चरणमा हामी छाैं, नेपाल एआई पाेलिसी के हुन सक्छ ? जस्ता कुराकाे माध्यमबाट हामी अगाडि बढ्छाैं र यसकाे प्रयाेग गर्छाैं विकासका लागि मानिसकाे सुविधाका लागि, अग्रमनका लागि, हामी त्याे साेचमा छाैं, रणनीतिक याेजना बनाएर अघि बढ्छाैं ।'
एआईकाे सकारात्मक विकास र विस्तार कसरी गर्ने, जनजीवनका लागि सबैकाे पहुँचकाे विषय कसरी बनाउने, एआईलाई मानिसकाे सुविधाका लागि कसरी विकास गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे । एआईले हरेक क्षेत्रमा धेरै ठूलो सहयोग गरेकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
आफू प्रधानमन्त्री हुँदा डिजिटल नेपालकाे अवधारणा अघि सारेर अप्टिकल फाइबर र इन्टरनेट सबै ठाउँ पुर्याउने काम अघि बढाएकाे उहाँले बताउनुभयाे । डिजिटल नेपाललाई अब गति दिइने प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामकाे कडा निगरानी गर्नुपर्ने उहाँले बताउनुभयाे । प्रधानमन्त्री ओलीले भन्नुभयाे - 'यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ, यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थित, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ, एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडिओ हेर्छु, मलाई गीत त गाउन आउँदैन, एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ, यो मै हेरिरहेको छु, एआईलाई यसरी मिसयुज गर्नु हुँदैन, डिजिटल नेपाल भनेको यो खाली मोबाइलमा मात्रै काम हुन्छ भन्ने कुरा त होइन, हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ, घरमा जाँदा पनि अनलक गर्न सकिन्छ, अफिसमा हाजिर गर्दा मान्छे र अनुहार चिन्छ, देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ ।'
इच्छा र आवश्यकता एकातिर सामार्थ्य अर्काेतिर भएकाे भन्दै उहाँले इच्छा आकांक्षा, स्राेतसम्पन्न बनाउने साेच सरकारकाे रहेकाे उहाँले बताउनुभयाे । एआईलाई शिक्षाकाे तहमा कसरी लैजाने भन्ने नेपाललाई एआई एजुकेशन हब बनाइने प्रधानमन्त्री ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे -'एआईकाे विकास, एआईमा विद्यार्थी र नयाँ पिडीकाे दक्षता कसरी विकास गर्ने ? नयाँ नयाँ एआई डेब्लप हाम्राे जनशक्तिले कसरी गर्ने ? एआईकाे अधिकतम प्रयाेग गर्ने ? त्यसकाे विस्तार कसरी गर्ने ? याे कुरामा हामी लागेका छाैं, त्यसका निम्ति हामी संगठित प्रयासहरु याेजनाबद्ध रुपमा अगाडि बढाउने साेचिराखेका छाैं ।'
इच्छा र आवश्यकता एकातिर सामार्थ्य अर्काेतिर भएकाे भन्दै प्रधानमन्त्री ओलीले इच्छा आकांक्षा घटाउने नभएर सामार्थ्य बढाउनतिर साेच्नुपर्ने बताउनुभयाे । एआईलाई स्राेतसम्पन्न बनाउने साेच सरकारकाे रहेकाे उहाँले बताउनुभयाे । निजी क्षेत्रले अरुले बनाएकाे नभएर आफैंले निर्माण गर्नतिर लाग्नुपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयाे । यसाे गर्दा पैसा बाहिर नजाने र महंगाे पनि नपर्ने उहाँले बताउनुभयाे ।
एआईसँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार, निजी क्षेत्र, नागरिक समाजबीच समन्वय आवश्यक रहेकाे बताउनुभयाे । विकास र अर्थतन्त्रकाे मेरुदण्ड मानिएकाे निजी क्षेत्रलाई एआई अझ जरुरी रहेकाे प्रधानमन्त्री ओलीले बताउनुभयाे ।


प्रतिकृया दिनुहोस