• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

एयरलाइन्स कम्पनीलाई मन्त्री पाण्डेको निर्देशन - २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउनू

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएकाे छ ।

एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूसँग बुधबार मन्त्रालयमा छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार अपरान्ह ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएकाे हाे ।

एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको ५ बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली भाडा लिएको भन्दै उहाँले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई सचेत गराउनुभयाे ।

 राज्य र नागरिकप्रति एयरलाइन्सहरू दायित्वच्युत भएर झारो टार्ने काम गरिरहेका मन्त्री पाण्डेले बताउनुभयाे । 'नागरिकमाथि निकै ठूलो ज्यादती भयो, शोषण भयो, धुर्त व्यापारीको जस्तो काम एयरलाइन्सहरुले गर्न थाले भन्ने हामीलाई अनुभूति भएको छ, राज्यलाई घाँस हालेजस्तो काम गर्नुभएको रहेछ तपाइँहरूले, राज्य र नागरिककाप्रति एयरलाइन्सहरूले दायित्वच्युत भएर झारा टार्ने काम गरेका रहेछन्, पछिल्लो समयमा कुनै पनि सुधारको काम देखिएन'- उहाँले भन्नुभयाे ।

एयरलाइन्सहरू गैरजिम्मेवार बनेकाे भन्दै मन्त्री पाण्डेले असन्तुष्टि जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'आज जसरी तपाइँहरू गैरजिम्मेवार ढंगले प्रस्तुत हुनुभएको छ, कतिपयले आफ्नो एयरलाइन्सले टिकेट मूल्य कति लिएको छ भन्ने जानकारी समेत नलिएका प्रतिनिधिहरु पनि आउनुभएको छ, विदेशका एयरलाइन्सहरूको व्यवस्थापन गर्ने भएकाले आफ्नो दानापानी पनि उतैबाट चल्ने जस्तो गैरजिम्मेवार प्रस्तुतिबाट म निकै दुःखित भएको छु, यसको समीक्षाका लागि तपाइँहरू एक्लाएक्लै बस्न आग्रह गर्दछु, भोलि ४ बजेसम्म समीक्षा गरेर भाडादर उपलब्ध गराउनुहोला ।'

मन्त्री पाण्डेले रन-वे र ट्याक्सी-वे बीच कनेक्टिङ-वे बनाउनुपर्ने भएका कारण १० घण्टा त्रिभूवन विमानस्थल बन्द गर्नुपरेको पनि स्पष्ट पार्नुभयाे ।

प्रतिकृया दिनुहोस
↑