वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडामा दियाे छुट (विज्ञप्तिसहित)
काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएकाे छ ।
अन्तर्राष्ट्रिय उडानको भाडादर २५०० देखि ५ हजारसम्म घटाएको निगमले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले भाडादर उपलब्ध गराउन निर्देशन दिएकै भाेलिपल्ट निगमले भाडादरमा केही छुट दिएकाे हाे । मन्त्री पाण्डेकाे निर्देशनपछि अन्तर्राष्ट्रिय सेक्टरहरुको भाडादरमा छुटसहित निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कार्यालयवाट टिकट लिन सकिने व्यवस्था समेत मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।
निगमले दिल्ली, मुम्बई र बैंग्लोर सेक्टरका लागि बजार भाडादरमा २५ सय रुपैयाँ छुट दिएकाे छ । दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताको भाडादरमा ५ हजार छुट दिइएकाे निगमले जनाएकाे छ ।
दिइएको छुट जहाजको सिट उपलब्धता अनुसार पहिला आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने समेत निगमले जनाएको छ । त्यसका लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ ।
नाेभेम्बर ८, २०२४ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरुको हवाई उडानहरु कटौति भएको र सोही समयमा नेपाल गन्तव्य उच्च पर्यटकीय मौसम तथा नेपलीहरुको महान् चाडपर्व समेत परेको निगमले जनाएकाे छ । त्यस अवस्थामा हवाई यात्रुको संख्या वृद्धि भएसँगै उडानहरुको माग वमोजिम आपूर्ति हुन नसकेको हालको अवस्थामा हवाई भाडा अत्याधिक बढेको भन्ने जनगुनासो रहेको सन्दर्भमा नेपाल वायुसेवा निगमकोे हवाई भाडादर बजार माग तथा आपूर्तिको सिद्धान्त बमोजिम निगमको जहाज र सिट संख्याको उपलब्धताको आधारमा गत वर्षको सोही अवधिको भाडादरको दायराभित्र नै रहेको निगमले जनाइएकाे छ ।
नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारबाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्बन्धित सबैमा निगमले अनुराेध पनि गरेकाे छ ।



प्रतिकृया दिनुहोस