• २५ असोज २०८३, आइतबार
  • Sunday,11 October,2026

नेपाल–इण्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौैं । पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । 

पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रण्टायर्स ट्रेकिङ कम्पनीको आयोजना तथा नेपाल पर्यटन बोर्ड र एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको सहकार्यमा आइतबार राति आयोजित कार्यक्रममा नेपाल र इण्डोनेसियाका कलाकारहरूले सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो ।

कार्यक्रमका लागि इण्डोनेसियाको जेन्ट्रा लेस्तारी बुदाया फाउण्डेसनको १३ जनाको टोली केही दिनअघि नेपाल आइपुगेको थियो । आयोजक कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मिङ्मादोर्जे शेर्पाले कार्यक्रमले दुई देशबिच संस्कृति आदानप्रदान हुनाका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमले इण्डोनेसियामा रहेका २० लाखभन्दा बढी बौद्ध धर्मावलम्बीलाई नेपाल ल्याउन सक्ने कुरामा सहयोग गरेको उहाँको दाबी छ । 

कार्यक्रममा जेन्ट्रा लेस्तारी बुदाया फाउण्डेसनका प्रमुख सदस्य तथा गायिका रत्नादेवी कार्तिकाले इण्डोनेसियाको लोकगीतका साथै केही पप गीत गाउनुभयो । कार्यक्रममा इन्डोनेसियाका तर्फबाट लातिस्या चाञ्जी बार्डेल स्टेयाज, सयिफा नुरुल अज्जुरा र डिजिक्रा औरेलिया देत्रियानी लगायतले नृत्य प्रस्तुत गर्नुभएको थियो । 

नेपालका तर्फबाट कलाकारहरू देवीका बन्दना, राजेश महर्जन, खुसी कुलुङ राईलगायतले गीत प्रस्तुत गर्नुभएको थियो । नृत्यकार कमल राईको समूहले विभिन्न लोकभाकामा नृत्य प्रस्तुत गरेको थियो । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी, भारतीय ज्योतिष एट्लाण्टा कश्यपका साथै पर्यटनकर्मी तथा कलाकारहरूको उपस्थिति थियो ।

जेन्ट्रा लेस्तारी बुदाया फाउण्डेसनमा इण्डोनेसियाका ३८ प्रान्तमा १० हजारभन्दा बढी सदस्य आबद्ध छन् । कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि फाउण्डेसनले काम गर्दै आएको छ । 

 

प्रतिकृया दिनुहोस
↑