नेपालका प्रकाशराज पाण्डेद्वारा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण
काठमाडौं । विश्वका सातैवटा महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका नेपालका पर्वतारोही प्रकाशराज पाण्डेले दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहण गर्नुभएको छ ।
आरोही पाण्डेले फरबरी ६ मा ६ हजार ९ सय ६१ मिटर अग्लो सो हिमाल आरोहण गर्नुभएको हो ।
सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरिसक्नु भएका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएको थियो । सोही वर्षको नोभेम्बर महिनामा उहाँले अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गरिसक्नु भएको छ । उहाँको एसिया सहित यो चौथो महादेशको सफल हिमाल आरोहण हो ।
रामेछाप लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङ स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका–२ ललितपुरमा बसोबास गर्दै आउनुभएका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्नुभएको हो । । उहाँले सन् २०१८ मा सगरमाथाको आरोहण गरेयता निरन्तर हिमाल चढ्दै आउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानमा सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा दिएर पर्वतारोहणको लागि बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरका बारे विश्व समुदायको ध्यानाकर्षण गराउने आफ्नो लक्ष रहेको पाण्डेको भनाइ छ । जलवायु परिवर्तन निम्त्याउन नेपालको नगण्य भूमिका भए पनि यसका कारणले नेपालले निक्कै अप्ठेरो स्थिति भोगिरहनु परेको प्रति विश्व समुदायको ध्यानाकर्षण गराउने पाण्डेको लक्ष छ ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथा पुनः फहराउने पाण्डेले बताउनुभयो । पाण्डे पर्वतारोहणका अतिरिक्त अन्तर्राष्ट्रिय युवा अभियान स्काउट र रोटरी इन्टरनेशनलमा समेत आबद्ध हुनुहुन्छ ।
स्काउटका संस्थापकको नाउँमा नामाकरण गरिएको नेपालमा रहेको हिमाल बेडेन पावेल स्काउट पिक पनि पाण्डेले दुई पटक आरोहण गरिसक्नु भएको छ । उहाँको अभियानमा मकालु आउटफिटले आवश्यक माउन्टेनियरिंग गियरहरू उपलब्ध गराएको थियो ।
नेपालीको आसिरवादले आफ्नो पर्वतारोहण सफल भएको भन्दै पाण्डेले सबैलाई धन्यवाद दिनुभयो । सफल आरोहण पछि सनराइज खबरलाई फोन गर्दै पाण्डेले भन्नुभयो–‘यो यहाँहरू सबैको आसिरवादको परिणाम हो, म सफल भएँ । ’


प्रतिकृया दिनुहोस