प्रकाशराज पाण्डेको हिमाल यात्रा : उर्गेमा हिमालदेखि सगरमाथा हुँदै माउण्ट ओकान्कागुवासम्म
रामेछाप । रामेछापको बेसीको एउटा गाउँमा जन्मिएको बच्चा ठुलो भए पछि हिमालका टुप्पाहरूमा नाच्दै हिँड्ला भन्ने कसलाई के थाहा ! गर्तिरमा जन्मिएको बच्चा हिमाल र हिउँमा रमाउँदै विश्वका अग्ला हिमचुचुरा चाहर्ला भन्ने के अड्कल !
गर्तिमा होइन हिमालमा नै जन्मिएकाले पनि आँट्न नसक्ने साहसिक काम आँट्नुभएको छ रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका प्रकाशराज पाण्डेले । विश्वका सातवटै महादेशका सातवटा सबैभन्दा अग्ला चुचुरा आरोहण गर्ने आँट बोकेर हिँड्नुभएको छ प्रकाश ।
आँट मात्र होइन अधा भन्दा बढी काम त फत्ते नै गरिसक्नुभयो । यही फरबरी ६ मा दक्षिण अमेरिकाको सबैभन्दा अग्लो माउण्ट ओकान्कागुवा आरोहण गरेपछि प्रकाशले चारवटा महादेशका प्रमुख चार चुचुराको सफल आरोहण गर्नुभएको छ । यस अघि पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा, युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस, अफ्रिकाको किलिमञ्जारो आरोहण गरिसक्नु भयो छ । अब उत्तर अमेरिका, अष्ट्रेलिया र एन्टारर्टिका महादेशका सर्वोच्च शिखर आरोहण गर्न बाँकी रहेको छ ।
.jpg)
रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ३४ वर्षीय पाण्डे ५ दाजुभाइ मध्यका साहिँलो भाइ हुनुहुन्छ । उहाँहरूकी एक बहिनी पनि हुनुहुन्छ । ४ कक्षासम्म गाउँकै विद्यालयमा पढेका प्रकाशलाई अङ्ग्रेजी माध्यममा पढाउन भनि अभिभावकहरूले काठमाडौँ लगेर पढाएका थिए ।
सन् २००७ मा स्काउटको शतवार्षिकीको अवसर पारेर नेपाल सरकारले रसुवाको लाङटाङ स्थित उर्गेमा हिमाललाई व्याडेन पावल स्काउट पिक नामकरण गर्यो । स्काउटको तर्फबाट नरेश महर्जनले २००७ मा सो हिमाल आरोहण गर्नुभयो । त्यस पछि न त त्यो हिमालको कुनै चर्चा भयो, न कसैले हिमाल चढे ।
स्काउटको नाममा राखिएको हिमालको नाम गुमनाम भएपछि प्रकाशलाई हिमाल चढ्ने इच्छा जाग्यो । २०१६ मा उनी स्काउटको नाममा नामकरण भएको उर्गेमा हिमाल चढ्ने सोचमा पुगे र एकजाना गाइडका साथ स्काउटको तर्फबाट हिमाल चढ्न रसुवा पुग्नुभयो ।
हिमाल चढ्ने खासै अनुभव नभएकोले पाण्डे २ वटा ठूला दुर्घटनामा पर्नुभयो । पहिलो हिउँ जमेको खाडलमा उहाँ पस्नुभयो । उहाँका गाइडले बचाए । फेरी केही माथि पुगेपछि हिउँमा चिप्लिए, झण्डै ज्यान गएन । त्यहाँ पनि गाइडले बचाए । बालबाल बचेर ५ हजार ८ सय ९० मिटर अग्लो टाकुरोमा पुग्नुभयो। तर फर्कँदा झण्डैँ अर्को ठुलो दुर्घटनामा भयो, पाण्डे र पथप्रदर्शकको टाउको माथिबाट ढुङ्गा झर्यो, तैपनि उहाँ रु बच्नुभयो ।

त्यस पछि उहाँले २०१७ मा सोलुको आइल्याण्ड हिमाल आरोहण गर्नुभयो। २०१८ को मे १६ को बिहान ११ः३० बजे उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभयो ।
पाण्डेले २०१९ मा किलर माउन्टेन भनेर चिनिने मनास्लु हिमालको समेत सफल आरोहण गर्नुभयो । पाण्डेले आमादब्लम र आइल्याण्ड पिकको समेत आरोहण गरिसक्नुभएको छ ।

सातवटै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तर्गत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएका प्रकाशले सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जाको सफल आरोहण गर्नुभयो। एसियाको सगरमाथा सहित दक्षिण अमेरिकाको माउण्ट ओकान्कागुवा आरोहण गरेपछि चौथो महादेशको सफल हिमाल आरोहण हो ।
.jpg)
तर प्रकाशको योजना भने ६ वटा देशका हिमाल चढेपछि फेरी सर्वोच्च शिखरमा पुगेर सबै हिमालमा फहराएको नेपाली झण्डा फहराउने छ ।
हिमाल चढ्ने अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरका बारे विश्व समुदायको ध्यानाकर्षण गराउन यो अभियान सुरु गरेको उहाँ बताउनुहुन्छ वातावरण परिवर्तनले हिमाललाई पारको प्रभाव रोक्न विश्व समुदायलाई दबाब दिने उहाँको लक्ष छ ।


प्रतिकृया दिनुहोस