सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख विरुद्ध बलात्कारको उजुरी दर्ता
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवार विरुद्ध बलात्कारको मुद्दा दर्ता भएको छ ।
दनुवार विरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बिहीबार १८ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको भन्दै जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
दुधौली नगरपालिकाकै एक होटेलमा काम गर्दै आएकी ती बालिकालाई मेयर दनुवारले करणी गरेको र त्यसबाट शिशु जन्मिएको जाहेरीमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बालिकाले गत फागुनमा बच्चा जन्माएकी छिन् ।
बालिकाले जाहेरी दिए लगत्तै प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । पीडितको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेडिकल रिपोर्ट, डिएनए परीक्षण लगायतका प्रमाण सङ्कलनको प्रक्रिया अघि बढाइएको छ ।
दनुवार २०७९ सालको को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँ माओवादी केन्द्रको वाग्मती प्रदेश सदस्य समेत हुनुहुन्छ ।


प्रतिकृया दिनुहोस