• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

जन्मथलाे पुगेर जन्मदिन मनाउने प्रधानमन्त्री ओलीको तयारी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक आफ्नो जन्मदिन फरक तरिकाले मनाउने भएका छन् । जन्मघर तेह्रथुमको आठराई वडा नम्बर ४ ईवा पुगेर उनले जन्मदिन मनाउन लागेका हुन् । 

प्रधानमन्त्री ओलीको जन्मदिन फागुन ११ मा हो । 

प्रधानमन्त्री आउने भएपछि गाउँमा ठूलो उत्साह छाएको बताउँछिन् आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपा कन्दङवा । उनी भन्छिन्– ‘हाम्रो गाउँका मानिसले प्रधानमन्त्री बनेर देशलाई नयाँ युगमा पुर्‍याउनुभएको छ, देशमा विकासको मूल फुटाउनुभएको छ भनेर गाउँलेहरु त्यसै पनि खुसी थिए । जन्मदिन गाउँ आएर मनाउने थाहा पाउँदा झन खुसी भएका छन् ।’

जन्मघर पुगेर जन्मदिन मनाउन लागेकाले मात्र प्रधानमन्त्रीको जन्मदिन विशेष हुन लागेको होइन । यसको अर्काे कारण छ । सो कारणको व्याख्या गर्छन्– नेकपाका नेता तथा तेह्रथुमका प्रदेश सांसद् लक्ष्मण तिवारी । उनी भन्छन्– ‘प्रधानमन्त्रीले आफ्नो जन्मथलोको घरबारी सबै प्राविधिक शिक्षालय बनाउनका लागि दिने घोषणा जन्मदिनका अवसरमा गर्नुहुनेछ । उहाँले चारसयजना वृद्धवृद्धालाई सम्मान गर्नुहुनेछ । त्यसैगरी पन्ध्रसय जना भन्दा धेरै विद्यार्थीलाई कापी कलम उपहार दिनुहुनेछ ।’


लक्ष्मणका अनुसार प्रधानमन्त्रीको निजी जग्गा र आसपासका जग्गा गरी दुईसय पचास रोपनी भन्दा धेरै जग्गा केपी शर्मा ओली ट्रष्टका नाममा ल्याइँदै छ । ट्रष्टले सो जग्गामा प्राविधिक शिक्षालय बनाउनेछ । प्रधानमन्त्री ओलीले जन्मदिनका अवसरमा जग्गा अर्पण गर्दै प्राविधिक शिक्षालयको घोषणा समेत गर्नेछन् । 

जन्मदिन मनाउने सबै कार्यक्रमको संयोजन केपी शर्मा ओली ट्रष्टले गर्न लागेको लक्ष्मणले जानकारी दिए । 

तेह्रथुमको छातेढुंगाबाट प्रधानमन्त्री ओलीको घर हुँदै मदन भण्डारीको जन्मघर ताप्लेजुङ ढुङगेसाँघु जोडिने सडकको पनि प्रधानन्त्री ओलीले शिलान्यास गर्नेछन् । सो सडक करिब सय किलोमिटरको हुने लक्ष्मणले जानकारी दिए । सडकको १० किलोमिटर तत्कालै पिच हुने कार्यक्रम रहेको उनले बताए । 

‘हामी प्रधानमन्त्री केपी शर्मा ओलीको अभिनन्दन पनि गर्दैछौं’– लक्ष्मणले भने– ‘त्यहाँ प्रधानमन्त्री सहित सबैका लागि खानाको व्यवस्था पनि गरिएको छ । उहाँ आउनुहुने भएपछि अहिले गाउँमा अत्यन्तै उत्साहको वातावरण छ ।’
 

प्रतिकृया दिनुहोस