केपी ओलीलाई किन मार्न चाहन्छन् ?
काठमाडौं । के केपी ओलीलाई मार्ने प्रयास अहिले पनि भइरहेको छ ? ओलीलाई मार्ने प्रयास भइरहेको नेकपा एमालेका नेता गोविन्द थापाले खुलाउनुभएको छ । आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई मार्न विगतदेखि नै विभिन्न शक्तिहरु लागिपरेको थापाले प्रष्ट पार्नुभएको छ ।
केपी ओलीलाई मार्नकै लागि विभिन्न षडयन्त्र हुँदै आएको र अहिले पनि भइरहेको उहाँको दावी छ । एमाले केन्द्रीय सदस्य थापाले केपी ओलीलाई मार्न विभिन्न समयमा गरिएका प्रयासको बेला आफू ओलीको साथमै रहेर प्रत्यक्ष देखेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा भिडियो ब्लग जारी गर्दै उहाँले केपी ओलीलाई मार्न गरिएका प्रयास सम्बन्धमा विस्तृतमा बताउनुभएको हो । गोविन्द थापाको विचारको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ—
पाँच मिनेट ढिला भएको भए मलाई मार्ने रहेछन् । यो अभिव्यक्ति कसको हो भन्ने तपाईंहरुलाई थाहा छ । यो अभिव्यक्ति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हो । ओलीको यो अभिव्यक्तिलाई लिएर अहिले विभिन्न खालका चर्चा परिचर्चा भइरहेको छ ।
केपी ओलीलाई मार्न खोजेकै हुन् त ? मार्न खोजेका हुन् भने किन मार्न खोजेका हुन् ? यो विषयमा आज म चर्चा गर्छु ।
केपी ओलीलाई मार्न प्रयास गरिएको सम्बन्धमा मैले ०७८ साल जेठ २९ गते एउटा लेख लेखेको थिएँ । त्यसबेला मैले लेखेको लेखको शीर्षक थियो, केपी ओलीलाई साँच्चै नै मारे भने के होला ?
लेख लेखिसकेर त्यो शीर्षक राख्दा मेरो हात काँमेको थियो । कति विभत्स शीर्षक राखें भन्ने लागेको थियो । लेख प्रकाशित भएपछि ठिकै शीर्षक राखेछु भन्ने लाग्यो । मेरा अरु लेखहरुमा सम्पादकजीले काँटछाँट धेरै गरिदिनुहुन्थ्यो, हेडिङ पनि चेन्ज गरिदिनुहुन्थ्यो । तर त्यो लेखमा चाहिँ हेडिङ जस्ताको तस्तै हालिदिनुभयो ।
त्यो लेख किन लेखिएको थियो भन्ने प्रसंग म सुनाउँछु । बागमती प्रदेश सभामा एकजना सांसद्ले केपी ओलीलाई मार्नुपर्छ भनेर बोलेका थिए । उनको राक्षसी अभिव्यक्ति सुनेर सारा जनता स्तब्ध भएका थिए । त्यही प्रसंगमा मैले त्यो लेख लेखेको थिएँ ।
केपी ओलीलाई साँच्चै नै मारे भने के होला ?
त्यो लेखमा मैले केपी ओलीलाई मार्ने प्रयास धेरैपटक भएको लखेको थिएँ । माओवादीको कथित जनयुद्धको बेला केपी ओली निशानामा हुनुहुन्थ्यो । संविधान सभाको चुनावको बेला उहाँलाई झापा तथा देशका विभिन्न भागमा धेरैपटक मार्ने प्रयास गरिएको थियो, त्यस्ता प्राय घटनाको म प्रत्यक्ष साक्षी हूँ । त्यसरी मार्ने कुनै पनि प्रयासमा केपी ओली विचलित हुनुभएन, डराउनु भएन । देशको हितमा लाग्दा मार्न खोज्छन् भन्नुहुन्थ्यो ।
०७२ सालमा संविधान जारी गर्दा र त्यसपछि केपी ओलीलाई ज्यान लिने थ्रेट थियो, धेरै तिरबाट त्यस्तो थ्रेट आएको थियो । मैले केपी ओलीको ज्यान खतरामा छ भनेर धेरैलाई भन्ने गरेको थिएँ । उहाँलाई भौतिक रुपमा सिध्याउने प्रयास हुनसक्छ भन्ने गरेको थिएँ । त्यही भएर मैले केपी ओलीलाई साँच्चै नै मारे भने के होला भनेर लेख लेखेको थिएँ ।
केपी ओलीलाई साँच्चै नै मारे भने के होला ?
०७२ साल यताको राजनीति केपी ओलीलाई धुरी बनाएर घुमिरहेको छ । माओवादीले कथित जनयुद्ध थालेपछि त्यस विरुद्ध घोर वैचारिक युद्ध केपी ओलीले नै गर्नुभयो । माओवादीहरुले त्यसबेला खुलेआम केपी ओलीलाई मार्नुपर्छ भन्ने गरेका थिए । ०६२—०६३ देखि नै देशलाई केपी ओलीले वैचारिक नेतृत्व दिँदै आउनुभएको थियो । वर्तमान संविधानलाई लोकतान्त्रिक रुपको बनाउने कामको नेतृत्व ओलीले नै गर्नुभएको थियो । संविधान सभाको बेला देश विभाजन गर्ने, नेपाललाई गृहयुद्धमा होम्ने, नेपाललाई दीर्घकालीन अस्थिरतामा लैजाने प्रयास भएको थियो । त्यस्तो प्रयासका विरुद्ध ओलीले निडर भएर अटल अडान लिँदै प्रतिरोध गर्नुभयो । त्यसैले उहाँलाई मार्न खोज्ने नै भए ।
केपी ओली राजनीतिक र वैचारिक युद्धका मात्र विजेता होइन । रोग विरुद्ध अपार मनोबल साथ लड्ने संघर्ष पुरुष पनि हो । दुईदुई पटक मृगौला फेर्दा पनि केपी ओलीमा कहिले निरासा देखिएन । दोस्रो पटक मृगौला फेर्न अघि उहाँको स्वास्थ्य अति कमजोर थियो । मृगौला फेर्न अस्पताल भर्ना हुँदा उहाँ अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुहुन्छ कि हुन्न भन्ने चिन्ता थियो । अप्रेशन थिएटरमा जाँदा उहाँले यो देशका लागि मैले धेरै योगदान गर्न बाँकी छ, कसैले चिन्ता गर्न पर्दैन, म स्वस्थ्य भएर थिएटरबाट निस्कन्छु भन्नुभएको थियो । अस्पताल अगाडि उहाँको सुस्वास्थ्यको कामना गर्दै हजारौं जनता भेला भएका थिए । देशभरीका मठ मन्दिर तथा गुम्बामा उहाँको स्वास्थ्य लाभको कामना गर्दै पूजापाठ गरिएको थियो । तर, राजनीतिको शिविरमा भने ओलीको मरणको कामना गरिँदैथ्यो ।
अप्रेशनपछि ओली स्वस्थ भएर तंग्रिनुभयो । त्यसपछि तत्कालीन नेकपामा झगडा तिब्र बन्यो । ओली मरिहाल्छन्, किन झगडा गर्नु भनेर चुप लागेका रैछन् । ओली झन् स्वस्थ्य हुनुभएपछि ओली विरुद्ध स्वदेशी तथा विदेशीले घेरावन्दी गरे । ओली विरुद्ध दुष्प्रचार अभियान चलाए । केपी ओलीको चरित्र हत्या गर्न र केपी ओलीलाई सिध्याउन हजारौं फेसबुक आइडी, टिकटक आइडी, युटुब च्यानल, ट्वीटर अर्थात् एक्स एकाउन्ट खडा गरियो । ओली विरुद्ध दुष्प्रचार गर्न फेक समाचार फ्याक्ट्रि नै सन्चालन गरियो । ओलीलाई मार्न सकिन्छ कि भनेर अनेक प्रयास गरेकै हुन् ।
भदौ २४ गते ओलीलाई मार्ने अर्काे एउटा षडयन्त्रमूलक प्रयास गरियो । उहाँ पाँच मिनेटको समयले बच्न सफल हुनुभयो । भदौ २४ गतेको षडयन्त्रको पर्दा विस्तारै विस्तारै खुल्दै जाँदैछ । आगामी दिनमा झन् खुल्नेछ । जेन्जी आन्दोलन बहाना थियो, जेन्जीलाई अगाडि सारेर पर्दा पछाडि ठूलो संगठन सक्रिय थियो । त्यो संगठनले सुरक्षाकर्मीका हतियार खोस्यो, त्यो संगठनले केपी ओलीको प्राण लिने प्रयास गर्यो, त्यो भूमिगत संगठनले सिंहदरबार जलायो, सर्वाेच्च अदालत जलायो, संसद् भवन जलायो, हजारौं सरकारी तथा निजी भवन जलायो । अर्बाै रुपैयाँको धनमाल लुटियो ।
देश जलाउने उद्देश्य थियो । देश जलाउनका लागि केपी ओलीलाई नमारी हुँदैन भन्ने बुझेका थिए । त्यसैले मार्न खोजेका थिए । सकेनन् ।
केपी ओलीको प्राण भनेको तपाईं हाम्रो जस्तै प्राण हो । तर, देश प्रतिको योगदानका दृष्टिले केपी ओलीको प्राण अनमोल छ । केपी ओलीको प्राण लिनकै लागि संसद् भवनमा गोली चलाउनुपर्ने परिस्थिति सिर्जना गराएका हुन् । संसद् भवनमा गोली चलाउने परिस्थिति सिर्जना कसरी गरियो भन्ने गहिरो र गम्भीर छानविन गर्नैप्र्छ । दर्जनौं युवाको एक चिहान किन बनाइयो ? यो छानविन हुनैपर्छ । यसका पछाडि ठूलो षडयन्त्र छ । त्यहाँ प्रहरीले मात्र गोली चलाएका थिए कि अरुले पनि ? संसद् भवनमा लाश ओछ्याएर नेपाललाई गम्भीर परिस्थितिमा पुराइयो । अहिले बनेको सरकारी आयोगले षडयन्त्रको यो पक्षको छानविन गर्छ भन्ने मलाई विश्वास छैन ।
षडयन्त्रमूलक र सुनियोजित तरिकाले २३ गते दर्जनौं युवाको ज्यान जाने परिवन्द मिलाए । त्यसैको आडमा २४ गते वितण्डा मच्चाए । केपी ओलीको सरकार सिध्याउन मात्र होइन, प्राण पनि सिध्याउन उनीहरुले षडयन्त्र गरेको प्रष्ट हुँदैछ ।
तपाईं केपी ओलीको जति पनि आलोचना गर्न स्वतन्त्र हुनुहुन्छ । केपी ओलीलाई जति पनि गाली गर्नुस्, अनेक आरोप लगाउनुस् । तर, केही आरोप यस्ता छन् जो केपी ओलीलाई लगाउन सकिँदैन । जस्तो कि उहाँलाई नातावादी परिवारवादी भन्ने आरोप लगाउनुको अर्थ छैन । केपी ओलीले नातागोता र परिवार पोस्ने काम कहिले पनि गर्नुभएन । यो तथ्य हो । केपी ओलीले नातावाद परिवारवाद चलाएको तथ्य कसैसँग छ भने ल्याए हुन्छ ।
अर्काे एउटा आरोप पनि केपी ओलीलाई लगाउनुको अर्थ छैन । केपी ओलीलाई भ्रष्टको आरोप लगाउन सकिँदैन । केपी ओलीलाई अरु जेजे भनेर आरोप लगाए पनि भ्रष्टाचारको आरोप लगाउनुको कुनै तुक छैन । केपी ओली भ्रष्टाचारी होइन भनेर उहाँको कडा आलोचकहरु पनि भन्न वाध्य छन् । केपी ओलीले भ्रष्टाचार गरेको प्रमाण कसैसँग छ भने ल्याए हुन्छ । केपी ओली भ्रष्ट हो भनेर यति ठूलो प्रचार गरिरहेका छन् तर एउटा पनि प्रमाण ल्याउन सकेका छैनन् । केपी ओलीको घर जल्दा के देखियो ? किताब मात्र देखियो । केपी ओलीको घरमा पैसा भेटिएन, सुनचाँदी भेटिएन । भेटिएको भए केपी ओलीलाई पनि भ्रष्टाचारी भएको आरोप लगाउन सकिन्थ्यो होला तर अहिलेसम्म केपी ओलीलाई प्रमाणसहित भ्रष्टाचारको आरोप कसैले लगाउन सकेको छैन ।
केपी ओलीलाई राष्ट्रघातीको आरोप पनि कसैले लगाउन सक्दैन । केपी ओली जस्तो देशभक्त र जनताप्रति समर्पित नेता युगौंमा विरलै मात्र जन्मन्छ । केपी ओली देशहितको विषय आउँदा अलिकति पनि हिच्किचाउनुहुन्न । हाम्रा प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा भारत रिसाउँछ भनेर सीमा विवादको कुरा उठाइनँ भनेर खुलेआम भन्छन् । भारत रिसाउँछ भनेर नेपाल भारत इपीजी रिपोर्टको कुरा उठाइनँ भन्छन् । तर, केपी ओली राष्टिय स्वार्थको कुरा उठाउन पदको माया मार्नुहुन्छ ।
पद र ज्यानको जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै ओलीले चीन गएर लिपुलेकको विषय उठाउनुभयो । पद र ज्यानको जोखिम हुन्छ भन्ने थाहा हुँदाहुँदै चीन गएर साम्राज्यवाद र फासीवाद विरोधी कार्यक्रममा सहभागी हुनुभयो । राष्ट्रियताका लागि यति हिम्मत गर्ने अर्काे कोही नेता छ नेपालमा ? म फेरि सोध्छु, देशको हितमा यति हिम्मत गरेर बोल्ने नेता केपी ओली बाहेक कोही छ ?
केपी ओलीलाई मार्न सकियो भने नेपाली राजनीति मियो बिनाको हुनेछ । जेन्जीको नाममा वितण्डा मच्चाएर लोकतान्त्रिक शक्तिहरुलाई सिध्याउन खोजिँदा देश र जनताको दीर्घकालीन हितमा निडर भएर केपी ओली बोलिरहनुभएको छ । पाँच मिनेट ढिलो भएकाले मलाई मार्न पाएनन् भनेर उहाँले दिनुभएको अभिव्यक्ति अर्थपूर्ण छ । मलाई फेरि पनि मार्न प्रयास गर्छन् भनेर सन्देश दिनका लागि उहाँले पाँच मिनेटको कुरा भन्नुभएको हो । आफूलाई मार्न खोजिनुको कारण खोजियोस् भनेर केपी ओलीले पाँच मिनेटको कुरा उठाउनुभएको हो । केपी ओलीलाई किन मार्न खोजिँदैछ ? नेपाली जनताले निष्पक्ष भएर यो प्रश्नको जवाफ खोज्नुपर्छ । मलाई के लाग्छ भने केपी ओलीले देश र जनताको पक्षमा फेरि पनि बोल्न थाल्नुभएको छ, त्यसकारण उहाँको ज्यान पहिलेभन्दा धेरै खतरामा छ ।
जेन्जी भनेका हाम्रै सन्तान हुन्, हाम्रै भाइबहिनी हुन्, हाम्रै परिवारका सदस्य हुन् । युवा, किशोर र बालबालिकाप्रति केपी ओलीको अगाध प्रेम छ तर अहिले उहाँलाई राक्षस जस्तो बनाएर प्रचार गरिरहेका छन् । केपी ओलीलाई राक्षस जसरी प्रचार गर्न ठूलाठूला भूमिगत फेक न्यूज कारखाना चलाइएको छ ।
जेन्जी युवाको मन अब कसैले जित्छ भने केपी ओलीले नै हो । जेन्जी युवाहरुले भ्रष्टाचार नियन्त्रण गर्न चाहेका छन्, उनीहरुको यो माग र विचारको नेतृत्व केपी ओलीले नै गर्ने हो । जेन्जी युवाहरुले सुशासन चाहेका छन्, त्यसको नेतृत्व केपी ओलीले नै गर्न सक्नुहुन्छ । दुष्प्रचारले भ्रममा परेकाहरुको आँखा खुल्दैछ, जतिजति दुष्प्रचारको कालो बादल फाट्दै जान्छ, केपी ओली नै सबैभन्दा असल, निडर र निष्कलंक नेता हो भन्ने प्रमाणित हुँदै जानेछ । यो कारण पनि केपी ओलीको ज्यान अझै खतरामा छ । केपी ओली रहेसम्म नेपालको राष्टिय अखण्डतामा आघात पुराउन सकिँदैन, केपी ओली रहेसम्म नेपालको राष्टिय स्वाभिमान ढल्न पाउँदैन । यो कारणले पनि केपी ओलीलाई मार्न सक्छन् ।
केपी ओलीलाई किन मार्न खोजेका होलान् ? म फेरि प्रश्न गर्छु, केपी ओलीलाई किन मार्न खोजेका होलान् ? यो प्रश्नको बाँकी जवाफ चाहिँ तपाईंहरुले दिनुहोला ।
र, अन्तिममा म केपी ओलीको लामो आयुको कामना गर्दै विदा लिन्छु ।


प्रतिकृया दिनुहोस