किवि: जसले दिनेशलाई फेरि विदेश जान राेक्याे
दिनेशकुमार सिग्देललाई कुनै बेला नेपालमा भविष्य छैन भन्ने लाग्थ्यो ।
त्यसैले उनी आफ्नो सुनौलो परिवार, सम्पन्न परिवारको कल्पना गर्दै यूरोप पुगे । चार बर्ष बिताए यूरोपमा ।
त्यसपछि उनी नेपाल फर्किए एउटा योजना लिएर ।
दिनेशको योजना थियो – ‘आफूले युरोपमा कमाएको पैसाले नेपालमा परिवारसँगै बसेर सानो भएपनि व्यवसाय गर्ने ।
तर, दिनेशको व्यवसाय गर्ने योजना धेरै समय टिकेन । किनकी उनले चिनेका प्राय सबै आफ्न्त व्यवसायबाट वाक्क भएर छाेडिसकेका थिए ।
अब के गर्ने त ? दिनेश अन्योलमा थिए । अन्योलकै क्रममा दिनेशले दुई वर्ष नेपालमा बिताएको पत्तै पाएनन् ।
दुई वर्षपछि एका–एक दिनेशले किवि सम्झे । किवि सम्झनुको कारण थियो – ‘यूरोपमा आफूले काम गर्ने नेटो अर्गनाइजेशन ।’
नेटोमा किविलाई व्यवसायिक रुपमा डिस्प्ले गर्ने गरिन्थ्यो । त्यहीँ काम गर्दा उनले किवि खाएका थिए । खाँदा मिठो र सबै फलफूलको स्वाद आउने भएकाले उनलाई किवि अाैधी मन परेको थियो ।
दिनेश भन्छन–‘मैले किवि र नेपालको हावापानी सम्झे ।’ हुन त नेपाल पनि विभिन्न प्रकारको हावापानी यूक्त देश हो । धेरै जसो खेती नेपालमा सम्भव छ ।
दिनेशले एका–एक किवि खेती गर्ने साेँच बनाए । तर कहाँ र कसरी खेती गर्ने भन्ने उनलाई ज्ञान थिएन । मात्र उनले देखेका र खाएका थिए किवि ।
किविबारे धेरै कुरा थाहा नपाएका दिनेशले गरेको अहिलेको किवि खेती हेर्दा लाग्छ, - 'त्यो किवि खेती होइन्, कुनै विश्वविद्यालयको अनुसन्धानका लागि गरिएको खेती हो ।
चार सय ४५ रोपनीमा फैलिएको छ उनको किवि खेती । ६० जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् । दश हजार बोट किवि उनको फर्ममा छ ।
गत वर्ष मात्र ४० टन किवि उत्पादन भएको थियो । बजार खोज्न जानु पर्दैन । ग्राहक आफै किवि हेर्दै आइपुग्छन् । ठाँउको ठाँउ विक्छ । कम्पनी अर्थात भोटेचौर अर्गानिक एग्रीकल्चर प्रा.लि नाफै नाफामा छ ।
दिनेशको प्रगति विवरण सिन्धुपाल्चोकभरि फैलिएको छ ।
उनको सिको गर्दै अरु दश समूहले पनि किवि खेती गर्न थालिसकेका छन् । दिनेश भन्छन्–‘मैले नेपाललाई र विशेषगरि सिन्धुपाल्चोक वासीलाई अमूल्य उपहार दिए जस्तो लाग्छ किवि खेती गरेर ।’
हुन पनि उनको योजनामा सुरु किवि खेतीले अहिले सिन्धुपाल्चोक ढाक्दै छ । विदेश जान थालेका युवाहरुलाई स्वदेशमै वस्न प्रोत्साहान गरेको छ । दिनेश भन्छन्- 'यो सबैलाई मैले उपलब्धि ठानेको छू ।'
दिनेशले यसलाई उपलब्धि मात्र हाेइन पैसाले किन्न नपाउने उपलब्धि नै ठानेका छन् ।
यसरी सुरु भएको थियो दिनेशको विशाल योजना
सुरुमा एक्लैले गर्न सक्छुकी भनेर आँटेका थिए दिनेशले । तर, सबै बुझ्दा उनले एक्लैले गरेर पार नलाग्ने थाहा पाए ।
लगानी धेरै चाहिने रहेछ । दिनेशसँग योजना अनुसारको फार्म सुरु गर्न पुग्ने लगानी पनि थिएन । जग्गा पनि भाडामा लिनुपर्ने थियो । जग्गा बुझ्दा सोँचेको भन्दा महँगो थियो ।
दिनेशले सोँचे जग्गावालालाई पनि मेरो टाेलीमा मिलाएर खेती गर्छु । उनले जग्गावालासहितको ४५ जनाको टाेली बनाए ।
जग्गाको फाइनल भइसकेपछि उनी बिरुवाको खोजी तर्फ लागे । संयोगबस् उनले चिनेका डा. सूर्य पाण्डेले काभ्रेमा किवि खेती गरिरहेका थिए । दिनेश उनको सम्पर्कमा आए ।
आफूले पनि किवि खेती गर्न लागेको उनलाई बताए । खेतीका लागि डा.सूर्यले बिरुवा उपलब्ध गराइ दिने भए ।
त्यसपछि सिन्धुपाल्चोकमा किवि खेती थालियो ।
लगाएको ठिक तीन वर्षपछि ४५ रोपनिमा लगाएको विरुवा हुर्कियो । सार्न योग्य भयो । त्यसपछि उनीहरुको व्यवसायीक यात्रा सुरु भयो ।
यसरी सुरु भएको किविको यात्राले अहिले निकै राम्रो रुप लिएको छ ।
गत बर्ष मात्र मात्र ४० टन किवि विक्रि गरेको थियो यो फर्मले । अहिले फर्म नाफै नाफामा छ ।
दिनेशको सोँच केही पूरा भएकाे छ केही बाँकी छ । अब सिन्धुपाल्चोकलाई किवि जोन बनाउने लक्ष्य सुनाउँदै दिनेश भन्छन्–‘यो पनि म चाँडै पूरा गर्नेछु ।’
युवाहरुका लागि दिनेश एक उदाहरणीय पात्र बनेका छन् । नेपालमै मेहेनत गरे भविष्य बन्छ भन्ने साेँचका बलिया पात्र हुन् दिनेश ।
दिनेशसँग गरिएकाे कुराकानी तलकाे भिडियाेमा हेर्नुस् :


प्रतिकृया दिनुहोस