काठमाडौंकाे क्यासिनोमा जुवा खेलाउने १४ जना पक्राउ, नगद र नक्कली कागजात बरामद
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले क्यासिनोमा जुवा खेलाउने कार्यमा संलग्न १४ जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न क्यासिनोहरूमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका टोलीहरूले विशेष अपरेशन सञ्चालन गरेका थिए।
सो क्रममा काठमाडौं महानगरपालिका–१ स्थित थमेलको गरुडा क्यासिनो बाट १३ जना र वडा नं. १४ स्थित क्यासिनो माहजोङ बाट १ जना गरी जम्मा १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद रु. १,५०,०००, विभिन्न कम्पनीका १४ थान मोबाइल फोन, नक्कली भारतीय आधार कार्ड १ थान, सवारी चालक अनुमतिपत्र २ थान, नक्कली भारतीय भोटर कार्ड १ थान, सिसिटिभी सम्बन्धी डीभीआर २ थान तथा विभिन्न नेपाली नम्बर लेखिएको डायरी १ थान बरामद गरेको छ।
उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।



प्रतिकृया दिनुहोस