• २२ श्रावण २०८३, शुक्रबार
  • Friday,07 August,2026

१४ वर्षीया बालिका सुरक्षित, दुर्व्यवहार नभएको प्रहरीको स्पष्टिकरण

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता


झापा । जिल्ला प्रहरी कार्यालय झापा ले सामाजिक सञ्जालमा फैलिएको “१३ वर्षीया बालिकालाई कुटपिट गरी हिरासतमा राखिएको” भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कार्यालयले उक्त विवरण सत्य नभएको स्पष्ट पार्दै तथ्यहीन हल्लाले प्रहरीको व्यावसायिक छविमा आँच पुग्ने उद्देश्य देखिएको उल्लेख गरेको छ।


प्रहरीका अनुसार पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा चोरी तथा लागूऔषध कारोबार बढ्दै गएको सूचनाका आधारमा अनुसन्धान तीव्र बनाइएको थियो। सोही क्रममा मिति २०८२ फागुन  २९  गते राति करिब ११:३० बजे बिर्तामोड नगरपालिका–४ स्थित एक घरमा शंकास्पद गतिविधि भएको सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध ब्युरोको संयुक्त टोलीले छापा मारेको थियो।


खानतलासीका क्रममा सोही घरमा बस्दै आएका २८ वर्षीय मसिना खातुनको साथबाट स्रोत नखुलेको नेपाली नगद ६ लाख ३५ हजार ४६०, भारतीय रुपैयाँ २ लाख ४६ हजार, करिब ३ तोला सुन तथा ४ तोला चाँदीका विभिन्न गहना बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामग्री चोरीसँग सम्बन्धित हुन सक्ने आशंकामा खातुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।


प्रहरीले छापा मार्दा खातुनको श्रीमान घरमा नभएको र उनीसँगै रहेकी १४ वर्षीया छोरी आशिका खातुनलाई बालिकाको सुरक्षालाई ध्यानमा राख्दै महिला पुनःस्थापना केन्द्रमा सुरक्षित रूपमा राखिएको स्पष्ट पारेको छ। बालिकामाथि कुनै पनि प्रकारको कुटपिट वा दुर्व्यवहार नगरिएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय झापाले अपुष्ट र भ्रामक समाचार प्रकाशन नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्दै आधिकारिक सूचना मात्रै सम्प्रेषण गर्न अपिल गरेको छ।

 

प्रतिकृया दिनुहोस