ट्रम्प–सी जिनपिङ भेट: चीन–अमेरिका सम्बन्ध र विश्व मुद्दामा सहकार्यबारे छलफल
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको उच्च राजनीतिक केन्द्र झोङनान्हाईमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। दुई देशबीचको संवेदनशील कूटनीतिक सम्बन्धका बीच भएको यो भेटलाई अन्तर्राष्ट्रिय रूपमा विशेष चासोका साथ हेरिएको छ।
ह्वाइट हाउस पुल रिपोर्टका अनुसार कडा सुरक्षा व्यवस्थाबीच भएको उक्त भेटमा सीमित संख्यामा मात्र पत्रकारहरूलाई प्रवेश अनुमति दिइएको थियो। राष्ट्रपति ट्रम्पको आगमनका क्रममा सुरक्षालाई ध्यानमा राख्दै आसपासका सडकहरू पूर्ण रूपमा खाली गरिएको थियो।
चिनियाँ सञ्चारमाध्यमहरूले विदेश मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै यसअघि भएको प्रारम्भिक छलफलमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय विषयहरू तथा विश्वव्यापी सरोकारका मुद्दाहरूमा गहन विचार आदानप्रदान भएको जनाएका छन्। साथै, भेटका क्रममा केही नयाँ समझदारीहरूमा समेत पुगिएको बताइएको छ।
चिनियाँ अधिकारीहरूले छलफलका विस्तृत विषय सार्वजनिक नगरे पनि दुवै राष्ट्रपतिबीच एकअर्काका चासोहरूलाई सम्मान गर्ने तथा विश्व तथा क्षेत्रीय मुद्दाहरूमा समन्वय बढाउने विषयमा सहमति भएको जानकारी दिएका छन्।
विशेषगरी इरानसँग सम्बन्धित विषयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले प्रतिक्रिया दिँदै उक्त द्वन्द्व ‘कहिल्यै हुन नहुने अवस्था’ भएको टिप्पणी गरेका छन्। उनले यसको छिटो समाधान आवश्यक रहेको उल्लेख गर्दै अमेरिका र इरान मात्र नभई सम्पूर्ण क्षेत्र तथा विश्वका लागि पनि शान्तिपूर्ण समाधान लाभदायक हुने बताएका छन्।


प्रतिकृया दिनुहोस